
बिर्तामोड । झापामा आत्महत्या गर्नेको संख्या बढेको छ । गएको तीन बर्षभित्रमा मात्रै ५ सय ९५ जनाले आत्महत्या गरेका छन् ।
बढ्दो आवश्यकता र तनावको व्यवस्थपना गर्न नसक्दा आत्महत्या गर्नेको संख्या बढीरहेको झापा प्रहरीले बताएका छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आव २०७१-७२ मा २४२, ०७२-७३ मा २४० र चालु आवको माघ मसान्त सम्ममा ११३ जनाले आत्महत्या गरिसकेका छन् ।
जसमा पासो लगाएर ७९ प्रतिशत, बिस सेवनबाट १९ प्रतिशत, अग्निदाहबाट १ प्रतिशत र सेरिएर १ प्रतिशतले आत्महत्या गरेका छन् । यस्तै आत्महत्या गर्नेमा ६८ प्रतिशत साक्षर, २० प्रतिशत एसएलसी उतिर्ण, ११ प्रतिशत कक्षा १२ उत्तिर्ण र १ प्रतिशत स्नातक वा सो भन्दा माथि अध्ययन पुरा गरेकाले आत्माहत्या गर्ने गरेका छन् ।
यस्तै ६६ प्रतिशत विवाहित, २४ प्रतिशत अविवाहित, २ प्रतिशत विदुर, ३ प्रतिशत एकल (विधवा) र २ प्रतिशत सम्बन्ध विच्छेद गर्ने महिला–पुरूषले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रहरीका अनुसार आत्महत्याको मुख्या कारण वैदेशिक रोजगार र प्रेम सम्बन्ध रहेका छन् । जसमा ५६ प्रतिशत पुरूष र ४४ प्रतिशत महिलाले आत्महत्या गरेका छन् । प्रति ३६ घन्टामा एक जनाले आत्माहत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ



