मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन्।
विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजो बापत मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल खोजेका थिए। त्यो नपाउने थाहा पाएपछि उनी हिँडेका थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट किशोर बुढाथोकीले लेखेका छन्।
जेठ ३ गते दाइजो नपाएपछि विवाह मण्डपबाटै हिँडेका थिए। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। मण्डपबाटै बेहुला हिँडेपछि जन्ती त्यत्तिकै फर्किएका थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार जहदा–४ का राजवंशी र सोही वडाकी २१ वर्षीय एक युवतीका पक्षबीच कुराकानी भएर राजीखुसीका साथ जेठ ३ गते विवाह सुरु भएको थियो।
स्थानीय बासिन्दाका अनुसार सुरुमै दाइजो नदिने सहमतिमा दुवैपक्ष बिहे गर्न राजी भएका थिए। बिहेको कार्यक्रम चलिरहेका बेला बेहुलाले मण्डपमै दाइजो मागेका थिए।
बेहुली पक्षले आर्थिक अवस्था न्यून भएकाले माग भए बमोजिमको दाइजोको सामग्री दिन नसक्ने बताएपछि राजवंशी बेहुली छोडेर राति १ बजे हिँडेका थिए।
बेहुलासँगै जन्ती पनि बिहे घरबाट हिँडेपछि बेहुली पक्षले प्रहरीमा जाहेरी दिएका थिए। स्थानीय बासिन्दाले पनि दाइजोको निहुँमा बेहुली अस्वीकार गरेर युवतीको भविष्यमाथि खेलवाड गर्न खोजेको भन्दै राजवंशीमाथि कारवाहीको माग गरेका छन्।
महिला अधिकारकर्मी सञ्जु साहले दाइजो लिन र दिन नहुने कुरा कानुनले स्पष्ट व्यवस्था गरेको बताइन्।
फरार रहेका बेहुलालाई खोजी गर्ने क्रममा जहदा–४ बाटै पक्राउ गरिएको डीएसपी श्रेष्ठको भनाइ छ। बेहुली पक्षले जाहेरी दिएपछि पक्राउ गरिएका राजवंशीलाई बिहीबार मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।
यस मुद्दामा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ।



