जेठ १०, भारत । भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतिय जनता पार्टी भाजपाले बहुमत र उसको गठबन्धनले दुई तिहाई ल्याएसँगै पुन भाजपाकै सरकार बन्ने भएको छ ।

यो चुनावी नतिजासँगै मोदी फेरि एकपटक प्रधानमन्त्री बन्ने पक्काजस्तै भएको छ । भरतिय प्रधानमन्त्रीमा मोदी दोहोरिने भएसंगै नेपालमा त्यसको कस्तो प्रभाव पर्ला भन्ने बहस सुरु भएको छ । हिन्दुत्व र राष्ट्रवाद, राष्ट्रिय सुरक्षा, पाकिस्तान, सरकारका कार्यक्रम, राष्ट्रिय मुद्दा लिएर चुनाव जितेका मोदीको पार्टीले सरकार बनाएपछि कस्तो विदेश नीति लिनेछ भन्ने चासोको विषय बनेको छ । मुल रुपमा नेपालको आन्तरिक मामिलामा भारतको चासो कम हुन्छ हुँदैन,’ भन्नेमा धेरैको चासो छ ।
भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले चुनावमा राष्ट्रिय सुरक्षा र हिन्दुत्वलाई मुख्य मुद्दा बनाएको थियो । भाजपा एक्लैले ३०० भन्दा बढी सिट जित्न सफल भएको छ । भजपासहित एनडीए गठबन्धनले ३४९ सिट जितेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । विपक्षी भारतीय राष्ट्रिय नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन ९० र अन्य दलहरूले १०३ सिट जितेका छन । यसकारण एनडीए गठबन्धनबाट भाजपाका नेता मोदीको नेतृत्वमा सरकार बन्ने निश्चित जस्तै भएको छ ।
पहिलो पटक प्रधानमन्त्री बन्दा तीन पटक नेपाल आएका मोदी पुन प्रधानमन्त्री बन्दा नेपालप्रतिको उनको दृष्टिकोणबारेमा अनेक अड्कलबाजी भैरहेका छन् । विगतमा संविधान बन्ने क्रममा आफ्नो मुलुकले चाहेको जस्तो बिषय नसमेटिदा नाकाबन्दी लगाएका मोदीले सार्वजनीक रुपमा त्यसको माफी नमागेपनि आत्मआलोचना भने महसुश गरेका नेपालीको बझाई छ ।
लोकसभा निर्वाचनमा हिन्दुत्वको मुद्धा उठाएका मोदीले विगतमा पनि नेपाल हिन्दुराष्ट्र भएको हेर्न चाहेको बताईन्थ्यो । अब उनी पुन प्रधानमन्त्री भएपछि, नेपालमा पर्ने प्रभाव विगतका जस्तै रहने बारे अड्कलबाजी सुरु भएको छ ।
एनडीए गठबन्धनको भारी जितपछि बन्ने सरकारको नेपालमा भाजपा धारको दबाब कुनै न कुनै रूपमा पर्ने राजनीतिक विश्लेषक तथा परराष्ट्र मामिलाका जानकार राजेश गौतम बताउछन् । उनी भन्छन् ,‘भजपा सरकारले पहिले संविधानमा तराई मधेसका असन्तुष्टि नसमेटिएकोभन्दै नेपालसमक्ष खुलेर असन्तुष्टि व्यक्त गरेको थियो, नाकाबन्दी समेत लगायो, अब पनि सोही पार्टी सरकारमा रहँदा उसको विदेश नितीमा खासै परिवर्तन नहोला ।’
विगतमा भारतले नाकाबन्दी लगाउदा नेपाली जनताको भारतप्रतिको दृष्टिकोण सकारात्मक हुन नसकेकोले अब भने सोही हैसियतमा गएर व्यवहार नगरेपनि आफ्नो दबदबा भने नेपालमै पारिरहन प्रयास गर्ने विश्लेषक गौतमको टिप्पणी छ । गौतम भनछन् , ‘अर्काे कुरा भाजपाभित्र हिन्दु राष्ट्र र राजतन्त्रको वकालत पर्ने पक्ष अझैँ बलियो रहेकोले अब त्यो कसरी हाबी हुन्छ, त्यसले नै नेपाल–भारत सम्बन्धलाई प्रभाव पार्नेछ ।’
मधेस केन्द्रित दलहरूले गरेको आन्दोलनको आडमा भारतले नाकाबन्दी लगाएको त्यतिबेलाका घटनाक्रमका जानकारहरू बताउँछन् । त्यतिबेला नेपालमा परेको मानविय संकट र नेपालीहरूको मन दुखाउने सो कदम नयाँ बन्ने भारतमा सरकारले सच्याउन सक्ने अर्काे विश्लेषक कृष्ण खनाल बताउँछन् । उनले भने ‘अब मोदीकै सरकार बनेपनि हिजो के कारणले त्यस्तो घटना भयो त्यता त्यता नजालान् तर कुने कदम चाल्दा नेपाल भारत सम्बन्धमा पर्ला कि, वा नेपालीको चित्त दुख्छ कि भन्नेमा विशेष हुनेछन् ।’
मोदीको अघिल्लो कार्यकालमा नेपाल–भारत सम्बन्धमा ठूलो उतारचढाव आएको थियो । यसैले नेपालीलाई यो चुनावको परिणामका कारणभन्दा पनि उनको दोस्रो कालमा नेपाल–भारत सम्बन्ध कस्तो होला भन्ने चासो बढी रहेको पत्रकार तथा विश्लेषक आनन्दराम पौडेल बताउँछन् । दुवै देशद्वारा गठित प्रबुद्ध व्यक्तिहरूको समूहले तयार पारेको प्रतिवेदन मोदीले बुझ्न नमानेकाले अव फेरी मोदीको नेपालप्रतिको व्यवहारिक दृष्टिकोण उदारनै हुन्छ भन्न नसककिने पौडेलको तर्क छ । ‘मोदी प्रधानमन्त्री भएपछि दुई मुलुकको सम्बन्ध प्रजातन्त्र पुनःस्थापनायताकै तिक्ततापूर्ण चरणबाट गुज्रियो । भूकम्पलगत्तै नेपालमाथि भारतले नाकाबन्दी लगायो । नेपाली जनप्रतिनिधिले बनाएको संविधानप्रति हस्तक्षेप गर्न खोजियो’ उनी भनछन्, ‘ १९५० को सन्धी परिमार्जन गर्ने सुझावसहितको प्रबुद्द समुहको प्रतिबेदन मोदीले बुझ्न मानेका छैनन्, यसैले नेपालप्रतिको व्यवहारमा स्ुधार होला भन्ने अपेक्षा गर्ने ठाँउ छैन ।’
यसससगै भारतमा नयाँ सरकार बनेपछि नेपालप्रतिको चासो कस्तो राख्छ, नेपालमा भारतद्वारा सञ्चालित परियोजना समयमै सकिन्छ, सार्कलाई अवरोध गरिरहन्छ कि गति लिन दिन्छ भन्ने विषयले पनि नेपालसंगको सबन्ध कस्तो हुनेछ भर पर्ने टिप्पणीकारहरु बताउँछन् । मकालु खबर बाट साभार गरिएको



