
नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले मेची–महाकाली राष्ट्रिय अभियानको औपचारिक समिक्षा गर्न बाँकी रहेको बताएका छन् । ‘एमालेले अभूतपूर्व अभियान सम्पन्न गरेको छ,’ उनले भने ‘मुलुकको भावनात्मक सामाजिक एकताको अभियानलाई अघि बढाएको छ ।’
उनले सप्तरी घटना एमालेको गल्तीका कारण नभएको जिकिर समेत गरे । ‘कतिपय अतिवादी वा अपराधिक मानसिकता भएका शक्तिहरुले फरक विचार राख्ने शक्तिलाई उपस्थिति हुन नदिने योजनाका कारण त्यस्तो घटना भयो,’ उनले भने, ‘कतिपयले एमालेको दम्भले यस्तो घटना घट्यो भनेर हल्ला गरेका छन् । त्यो दुर्भाग्यपूर्ण कुरा हो ।’
उनले एमालेले शान्तिपूर्ण ढंगले गतिविधि गर्दा त्यो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण भएको पनि दाबी गरे । ‘भोलि कांग्रेस वा माओवादीले विरगञ्जमा कार्यक्रम गर्ने भन्ला त्यो बेला त्यस्तै आक्रमण भयो भने ?,’ उनले प्रश्न गरे ।
उनले मधेसी मोर्चा गठन गरेर अपराधिक क्रियाकलाप गर्ने काम भएको पनि आरोप लगाए । ‘अहिले मोर्चाको संगठन गोइत वा ज्वालसिंहका मान्छेले चलाइरहेका छन्,’ उनले भने, ‘राजविराजको कार्यक्रम विथोल्नुपर्छ भन्ने कुराको प्रस्ताव नै मोर्चा भित्र सिके राउत र गोइत समूहका मान्छेले जवरजस्त लगेका हुन् ।’
उनले संविधानसँग कुनै सम्वन्ध नै नभएका, अपराधिक कार्यमा संलग्न भएका र देशलाई नै अलग राज्य बनाउने कुराको बहस गर्दै हिडेका गोइत, ज्वालासिंह र सिके राउतहरुका कारण मधेसमा समस्या भएको पनि दाबी गरे । ‘लाहनमा उनीहरु राष्ट्रिय झण्डा जलाउँछन्,’ भट्टराईले भने, ‘मोर्चामाले मान्छे जुटाइ दिन्छन् । त्यसैले उनीहरुको नियत के–हो भन्ने प्रष्ट हुन्छ ।’
कान्तिपुर एफएमको अन्र्तरबार्तामा आधारित



