सिंगापुर- उडान भरिरहेको विमानमा बम रहेको हल्ला चलेपछि सिंगापुर हवाई सेनाका २ लडाकु विमानले सो विमानलाई सकुशल अवतरण गराएको छ।
१ सय ४४ यात्रु बोकेर आइतबार फिलिपिन्सको केबुबाट सिंगापुरका लागि उडेको फ्लाई स्कटको विमान टिआर-३८५ मा बम रहेको हल्ला चलेपछि प्रहरीले सुरक्षा सावधानी अपनाउन सूचीत गरेको थियो।
विमानमै सवार एक १३ वर्षीय युवकले बम रहेको हल्ला चलाएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाहरुले जनाएका छन्। उनलाई हाल नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको र उनले प्रहरीलाई सघाएका पनि प्रहरीले स्पष्ट पारेको छ।
विमान कम्पनीका प्रवक्ताका अनुसार १ सय ४४ जना यात्रु र चालक दलका ६ सदस्य सवार विमानलाई आइतबार दिउँसो ४ः४९ मा चंगी विमानस्थलमा सकुशल अवतरण गराइएको थियो।
सिङ्गापुरका रक्षामन्त्री अङ एङ हेनले सबै ‘खतरालाई अन्यथा प्रमाणित नभएसम्म’ गम्भीरतापूर्वक लिइने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सबै यात्रु सकुशल रहेको जनाएका छन्। उनले बम रहेको भनिएको विमान ल्याउन २ वटा लडाकु विमान पठाइएको पनि उनले खुलाएका छन्।




