काठमाडौं – सुडानका सैन्य शासकहरूले जंगी अड्डाबाहिर लामो समयदेखि धर्ना दिइरहेका प्रदर्शनकारीहरूलाई लखेट्न सोमवार गोली चलायो ।

त्यसक्रममा कम्तीमा ३० प्रदर्शनकारी मारिए अनि सयौं घाइते भए । भारीभरकम हतियार बोकेका अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेजका जवान ठूलो संख्यामा राजधानी खार्तूमका सडकमा तैनाथ गरिएका छन् ।
गाडीहरूमा मशिनगन लिएर तैनाथ जवानहरू प्रमुख पुल र प्रवेशमार्गमा निगरानी गरिरहेका छन् । अमेरिका र बेलायतले प्रदर्शनकारीहरूमाथि बल प्रयोग नगर्न र राष्ट्रपति उमर अल बशीरलाई अपदस्थ गर्ने जर्नेलहरूले नागरिकलाई सत्ता सुम्पिनुपर्ने भनी आह्वान गरेका छन् ।
सैन्य दमनमा परी मर्नेहरूमा आठ वर्षको बालक पनि रहेको बताइएको छ । रेडक्रस र अन्य मानवीय एजेन्सीहरूलाई घाइतेको तत्काल सहायता गर्न सुडानीज प्रोफेसनल्स एसोसिएसनले आह्वान गरेको छ ।
सैन्य परिषद्ले चाहिँ सैनिक मुख्यालयअगाडि धर्नामा बसेका मानिसलाई हिंस्रक तरिकाले नहटाइएको बताएको छ ।
एजेन्सी



