काठमाडौँ - नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले इटहरीमा पत्रकारमाथि भएको दुर्व्यवहारको अध्ययन गर्न गठन गरेको मिसन टोलीले पत्रकारले मेयरलाई धम्की दिएर उत्तेजित बनाएको निष्कर्ष निकालेको छ । पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै छानबिनका लागि उक्त मिसन टोली गठन गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्ट्याटसमा मेयर द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो,' टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ, 'साथै पत्रकार विराट अनुपमले पटक-पटक सामाजिक संजाल फेसबुकमा दिने गरेको निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्याक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो ।'

पत्रकार मोहनकाजी न्यौपानेको संयोजकत्वमा गणेश लम्साल, अमर खड्का र जयकृष्ण यादव सदस्य रहेको मिसन टोलीले अध्ययनपछि यथार्थ बाहिर ल्याउन जिम्मेवारी दिइएको मिसन टोलीले मेयर द्वारिकलाल चौधरीसँग भेटेर यसबारेमा छलफल गरेको थियो । भेटमा चौधरीले आफूले गल्ती गरेको पाइए सय पटक उठबस गर्न पनि तयार रहेको अभिव्यक्ति दिएका थिए ।

मिसन टोलीले पत्रकारले भ्रष्टाचार विरोधी अभियानलाई असफल पारेको मेयर चौधरीको आरोपलाई पनि तथ्यहीन बताएको छ । मेयर चौधरीले आफूले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गरेको टोलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।लोकान्तर