केन्यामा एक पुरुष सांसद आफ्नी महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ परेका छन् ।

आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ। गेडी संसद्‍को बजेट समितिमा सदस्य छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आक्रमणपछि खिचिएको दाबी गरिएको एउटा तस्बिरमा उनलाई रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त तस्बिर सामाजिक सञ्जालमा व्यापक भयो ।

सो विषयमा पुरुष सांसदहरूले खिसीटिउरी गरेपछि महिला सांसदहरूले संसद्‌ बहिष्कार गरेका थिए ।

पूर्वोत्तर केन्याबाट संसद्‌मा निर्वाचित कास्सिमले आफ्नो निर्वाचनक्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद्‌भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको बताइएको छ।

त्यसपछि संसद्‌मा सो विषयमा पुरुष सांसदले महिला सहकर्मीहरूलाई होच्याएको सबिना वान्जिरु चेगेले बीबीसीलाई बताइन् ।

‘हाम्रा केही पुरुष सहकर्मीले हाम्रो खिसीटिउरी गर्न थाले र यो ‘थप्पड दिवस हो भने,’ उनले बताइन् ।

चेगेका अनुसार उनीहरूले ‘महिलाको सोमत हुनुपर्ने’ र ‘पुरुषसँग कस्तो व्यवहार गर्ने भनेर जानेको हुनपर्ने’ भनेका थिए ।

कास्सिमलाई पक्राउ गर्नुपर्ने मागसहित महिला सांसदहरू संसद्‌बाट बाहिरिएपछि आरोप लागेका सांसद पक्राउ परेका हुन् ।

‘हामी सबै संसद्का सदस्य हौँ’ हामी उनीहरूभन्दा कम छैनौँ,’ चेगेले भनिन् ।

थप्पड हानेको आरोपबारे कास्सिमले कुनै प्रतिक्रिया दिएका छैनन् । बीबीसी