एजेन्सी । जहाजमा आउने समस्या तथा विमानस्थलका विभिन्न अड्चनका कारण उडान ढिला हुनु सामान्य जस्तै भइसकेको छ । त्यस्तै मौसम प्रतिकुल हुँदा पनि जहाज समयमा नउड्ने गरेको छ ।

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाको उडान भने यि उल्लेखीत भन्दा भिन्न कारणले ढिलो भएको थाहा भएको छ । सोमबार घटेको उक्त घटनामा एयर इन्डियाका पाइलटले जहाजका क्रु लाई आफ्नो लन्च बक्स धोएर ल्याउन आग्रह गर्दा ति क्रु ले नमानेपछि दुईबिच विवाद शुरु भएको बताइएको छ ।
यि दुईबिच विवाद बढ्दै हात नै हालाहालको स्थिती सिर्जना भएपछि जहाजका अन्य सदस्यहरुले झगडा छुट्याएको इन्डिया टुडेले उल्लेख गरेको छ । एआई–७७२ नम्बरको उक्त फ्लाइट बेंगलोरबाट कोलकाता जाने क्रममा रहेको थियो ।
जहाजमा सबै यात्रुलाई चढाएर टेक अफ गर्नु अघि भएको यस घटनाका कारण यात्रुहरु त्रसित बनेको बताइन्छ । उक्त घटनाको कारण विमान ७७ मिनेट ढिलो भएको थियो । झगडाको कारण उडान ढिलो भएको एयर इन्डियाका प्रवत्ताले स्वीकार गरेका छन् ।
घटनाको बारेमा एयरलायन्सले थाहा पाएपछि विवादमा संलग्न दुबै जनालाई जहाजबाट हटाएर अन्य चालकदलका सदस्यले जहाज उडाएको थाहा भएको छ । ति झगडालु कर्मचारीद्वयलाई एयरलायन्सले काममा जान रोक लगाइ अनुसन्धान गरिरहेको बताइन्छ ।
यसअघि पनि ति पाइलटले अन्य क्याबिन क्रु सँग घमण्ड देखाउँदै यस्तै अनुचित आग्रह गर्ने गरेको खबर बाहिरिएको छ ।



