अफगानिस्तानको राजधानी काबुलमा पछिल्लो वर्षको चुनावमा भएको कथित धाँधलीविरुद्ध आन्दोलन गरिरहेका महिला उम्मेद्वारले यसको विरोधमा राष्ट्रपति भवन अगाडि ओठ सिलाएर विरोध प्रदर्शन गरिरहेका छन् ।

अफगानिस्तानका विभिन्न प्रान्तका यी महिला उम्मेद्वारले गत वर्ष अक्टोबरमा भएको संसदीय चुनावमा हार व्यवहोरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक उम्मेद्वार डिवा नयाजीले मंगलबार आफ्ना पाँच महिला साथीसहित ओठ सिलाएर प्रदर्शन गरिन् ।

बीबीसीसँगको कुराकानीमा डिवाले यसलाई उनको लाचारी र प्रताडनाको अन्तिम हद बताउँदै सरकारलाई लाटो र बहिरोको संज्ञा दिएकी छिन् ।

स्मरण रहोस्, यी महिला पछिल्लो तीन महिनादेखि प्रदर्शन गरिरहेकी छिन् । यी महिला उम्मेद्वारले गत वर्ष भएको संसदीय चुनावमा धाँधली भएको र आफूहरुको साटो घुस र दबाब दिएका अर्कै व्यक्ति संसद पुगेको आरोप लगाएका छन् ।

नयाजीले भनिन्, ‘हामी अफगान महिला पछिल्लो तीन महिनादेखि धर्नामा छौं तर हाम्रो माग सुन्न राष्ट्रपतिसँग तीन मिनेटको पनि समय छैन ।’

आफ्नो यो प्रदर्शन नमरुञ्जेलसम्म जारी राख्ने उनले जानकारी दिएकी छिन् ।

धर्नामा बसेकी अर्की एक महिला उम्मेद्वार नजिबा फैज हेलमन्दीले बीबीसीसँगको कुराकानीमा मंगलबार बिहान उनको अनुरोधमा एक महिला डाक्टरले उनका साथीहरुको ओठ सिलाएको उनले बताइन् ।

नजिबाका अनुसार उनका अन्य ९ जना साथीहरुले भोक हड्ताल सुरु गरेका छन् । उनले भनिन्, ‘हाम्रो माग यो छ कि अफगानिस्तान सरकारले हामीले लगाएका आरोपबारे अनुसन्धान गर्नका लागि एक विशेष कमिटी गठन गरियोस् ।’

अन्य एक महिला उम्मेद्वार डा. जाहिदा फैजानको भनाई थियो, ‘हामी यहाँ तीन महिनादेखि धर्नामा छौं । सुरुमा हामीले भोक हड्ताल गरेका थियौं । तर राष्ट्रपतिका सल्लाहकारले हाम्रो मागको सम्बोधन हुने भन्दै भोक हड्ताल समाप्त गर्न आग्रह गरे । तर २५ दिन बितिसक्दा पनि सरकारले आफ्नो वचन निभाएको छैन त्यसकारण हामीले पुनः भोक हड्ताल सुरु गर्यौं ।’

धर्नामा बसेका महिलाका अनुसार उनीहरुले विरोधका लागि विभिन्न तरिका अपनाए । इदको दिन ती महिलाले कात्रो ओढेर पनि विरोध प्रदर्शन गरेको तर कसैले पनि आफ्नो कुरा नसुनेको उनीहरुले बताए ।

यता चुनाव आयोग र अफगानिस्तानको सरकारले यी महिलाको आरोप अस्विकार गर्दै चुनाव निष्पक्ष भएको बताएको छ ।