इन्डोनेशियामा आफ्नो बोसको तर्फबाट कथित यौन उत्पीडनलाई प्रमाणित गर्नका लागि अश्लिल फोन कल रेकर्ड गरेर त्यसलाई सेयर गर्ने महिलाले पाएको ६ महिनाको जेल सजायलाई देशको सर्वोच्च अदालतले कायम राखेको छ ।आफ्नो निर्णयमा सर्वोच्च अदालतले बाइक नुरिल मकनून अश्लिल सामग्री सार्वजनिक गरेकोमा दोषी प्रमाणित भएको बताएको छ ।
उक्त रेकर्डिङ सोसल मिडियामा भाइरल भएपछि उनका बोसले पुलिसमा ऊजुरी दिएका थिए ।मानवाधिकार समुहले यो मामलामा सर्वोच्च अदालतको निर्णयको आलोचना गरेको छ ।नुरिल, लोमबोक द्वीपमा माताराम शहरको एक विद्यालयकी शिक्षिका थिइन् । उनले आफ्नो प्रधानाध्यापकको अश्लिल फोन आउने गरेको भन्दै ऊजुरी पनि दिएकी थिइन् ।
नुरिलले एउटा फोन रेकर्ड गरेकी थिइन् जसमा कथित रुपमा प्रधानाध्यापकले अश्लिल कुरा गरेका थिए र उनलाई गाली गरेका थिए ।यो रेकर्डिङलाई पछि स्कूलका अध्यापकमाझ साझा गरिएको थियो र स्थानीय शैक्षिक एजेन्सीका प्रमुखसामू पेश गरिएको थियो ।उक्त अडियो सोसल मिडियामा पनि भाइरल भएको थियो ।अदालतमा पेश गरिएको दस्तावेज अनुसार त्यसपछि प्रधानाध्यापकले आफ्नो जागिर गुमाएका थिए ।
ती प्रधानाध्यापकले आफ्नो कुराकानीको भिडियो सार्वजनिक गरेको भन्दै पुलिसमा ऊजुरी दिएका थिए ।सर्वोच्च अदालतले गत वर्ष नोभेम्बरमा ती शिक्षिकालाई इन्डोनेशियाको ‘इलेक्ट्रोनिक इन्फर्मेशन एण्ड ट्रान्जेक्सन ल’ अनुसार ‘शालीनताको उल्लंघन’ को दोषी मानेको थियो ।बिहिबार सर्वोच्च अदालतले आफ्नो निर्णय कायम राख्यो । अदालतले महिलाले कुनै नयाँ प्रमाण पेश गर्न नसकेको बताएको छ ।
अदालतका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई भने, ‘उनको न्यायिक समिक्षाको अपिल खारेज गरिएको छ किनभने उनको अपराध निकै सजिलै प्रमाणित भइसकेको छ ।’पीडितमाथि लगाइएको ५० करोड रुपियाह (करिब ३८ लाख रुपैयाँ) को जरिवाना पनि कायम राखिएको छ ।नुरिलले अदालतमा आफूले उक्त रेकर्डिङ सार्वजनिक नगरेको भन्दै एकजना साथीले उनको फोनबाट लिएर सार्वजनिक गरिदिएको बताएकी छिन् ।
उनका अधिवक्ता जोको जुमाडीले बीबीसीसँग भने, ‘नुरिलले अदालतको निर्णय स्विकार गर्छिन् तर यौन उत्पीडनविरुद्ध आवाज उठाएका कारण आपराधिक मुद्दा खेप्ने आफू अन्तिम पीडित होस् भन्ने उनको चाहना छ ।’अधिवक्ताका अनुसार सुनुवाईको क्रममा उनी शान्त थिइन् ।
इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो
सर्वोच्च अदालतकमो निर्णयविरुद्ध अब कसैले अपिल गर्न सक्दैन । तर नुरिलको समूहले राष्ट्रपति जोको विडोडोसँग क्षमादानका लागि आग्रह गर्नसक्छ ।
राष्ट्रपतिले यदि महिलासँग कानूनी विकल्प समाप्त भएको खण्डमा आफूले उनको आग्रहमाथि विचार गर्ने बताइसकेका छन् । तर नुरिलका अधिवक्ताका अनुसार आफूहरुले क्षमा याचना गर्न नपर्ने किनभने उनले कुनै अपराध नै गरेकी छैनन् ।यो घटनापछि मानवाधिकार समूहले यो निर्णयले यौन उत्पीडनको शिकार भएका महिलामाथि चिन्ताजनक संदेश सम्प्रेषण भएको बताएको छ ।रातो पाटि



