विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ ।

मृत्युदण्डको सजाय सुनाइएकामा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरू, प्राध्यापकहरू र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले चिनिन्छ ।

यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा पक्राउ गरिएको थियो । नाम नबताउने सर्तमा एक अधिकारीले अदालतको आदेशका विरुद्ध अपिल गरिने जानकारी दिए ।

एमनेस्टी इन्टरनेसनलले अदालतको आदेश ‘कानुनको उपहास’ भएको जनाउँदै गिरफ्तारीमा परेका सबैलाई तत्काल रिहा गर्न हुथी विद्रोहीसँग आग्रह गरेको छ ।

यमनमा विगत चार वर्षदेखि इरान समर्थित हुथी विद्रोही र साउदी अरेबियासमर्थित तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सरकारी फौजबीच भीषण युद्ध जारी छ । यमन युद्धमा हजारौँको ज्यान गइसकेको छ भने लाखौँ मानिस घरबार छाडेर अन्यत्र पलायन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय