
निर्वाचनलाइ निर्धारीत समयमा सम्पन्न गराउन निर्वाचन आयोग आक्रमक रुपमा लागेको छ । सोमबार प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा ७५ जिल्लाका माननीय जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, आयोगको बैठकले न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीहरू समेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा मिति २०७३ चैत २५ गतेदेखि लागू हुने गरी नियुक्ति गर्ने निर्णय गरेको बताईएको छ । नियुक्त भएका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतहरूको नामावली मंगलवार सार्वजनिक हुने पनि जनाईएको छ ।
यसैगरि स्थानीय तहको निर्वाचनमा प्रयोग गर्ने गरी फोटोसहितको मतदाता परिचयपत्रको छपाइको कार्य निर्वाचन आयोग परिसरमा शुरू भएको जनाईएको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले छपाइको शुभारम्भ गरेकाहुन् । अत्याधुनिक सुरक्षण प्रविधि, क्यूआर कोड तथा फोटोसहितको नयाँ परिचयपत्र छपाइ समाप्त भएपछि मतदाताहरूसमक्ष पु¥याउने आयोगको तयारी रहेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १८ मा दलको तर्पmबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको सो समिति वा प्रदेश समितिको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने अन्तिम मिति भन्दा कम्तीमा पन्ध्र दिन अगावै आयोगलाई उपलब्ध गराउनु पर्ने र आयोगले त्यस्तो विवरण मनोनयनपत्र दर्ता गर्न तोकिएको मिति अगावै सम्बन्धित निर्वाचन अधिकृत समक्ष पठाइसक्नु पर्ने तथा यसरी रीत नपु¥याई मनोनयन पत्र दाखिल भएको अवस्थामा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रूपमा मान्यता नदिइने व्यवस्था बारे सचेत पनि गराईएको छ ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि उक्त ऐनको उक्त दफा बमोजिम राजनीतिक दलहरूको तर्फबाट विभिन्न पदका लागि खडा गरिने उम्मेदवारहरूको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना यस आयोगको कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा २०७३ चैत २६ गते शनिबारसम्ममा पेश गर्नका लागि भनिएको छ ।



