काठमाडौं- अष्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ। पश्चिम अष्ट्रेलियाको तटीय इलाकामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको अष्ट्रेलियाको भूगर्भ विभागले जनाएको छ। स्थानीय समयानुसार आइतबार दिउँसो ३:३९ मा हिन्द महासागरस्थित पोर्ट हेडल्यान्ड र ब्रोमको नजिक तटीय इलाकामा केन्द्र बनाएर भूकम्प गएको हो। भूकम्पको केन्द्र ब्रोमबाट करिब २ सर १३ किलोमिटरको दूरीमा पर्छ।

अमेरिकी भौगर्भिक सर्वेक्षण एजेन्सी (युएसजिएस)ले भूकम्प जमिनको सतहभन्दा ३३ किलोमिटर गहिराइमा गएको दाबी गरेको छ। युएसजिएसले भने भूकम्पको कम्पन ६ दशमलब ९ रिक्टर स्केलको रहेको जनाएको छ। अष्ट्रेलियाको मौसम विभागले भूकम्पका कारण सुनामीको कुनै सम्भावना नरहेको प्रष्ट पारेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भूकम्पका कारण सो आसपासका सहरहरुमा शक्तिशाली धक्का महशुस भएको स्थानीयहरुले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन्। भूकम्पले स्थानीय सुपरमार्केट, सडक तथा घरहरुमा क्षति पुर्‍याएको प्रारम्भिक रिपोर्ट छ। हालसम्म मानवीय क्षतिको बारेमा भने जानकारी आइनसकेको अधिकारीहरुले जनाएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।