काठमाडौं । प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र सबै तन्त्रकालमा मन्त्री बन्न नछुटाएका नेता बिजयकुमार गच्छदारलाई अब प्रधानमन्त्री बन्ने आशिर्वाद प्राप्त भएको छ । खुसुक्क नयाँदिल्ली हुँदै अमेरिका उडेका गच्छदारलाई केही दिनअघि भारतको एक धार्मिक संस्थाका अगुवाले भविष्यमा नेपालको प्रधानमन्त्री बन्ने भविष्यवाणी गरिदिएको बुझिएको छ । गच्छदारको ‘एकपटक प्रधानमन्त्री बन्ने’ इच्छा सुनेपछि ती धार्मिक अगुवाले ‘चिताएको इच्छा पूरा हुनेछ’ भनी आशिर्वाद दिएको थाहा भएको छ ।
भारत र नेपालमा पनि संगठन रहेको ब्रम्हकुमारी राजयोग केन्द्रको मुख्यालय माउण्ट आबु पुगेका गच्छदारले आफू एकपटक प्रधानमन्त्री बन्न इच्छुक रहेको कुरा आफूसँग व्यक्त गरेको कुरा त्यहाँका एक अगुवा ब्रह्मकुमार सुरजभाइजीले प्रवचनका क्रममा सुनाएका थिए ।
‘…भर्खरै नेपालबाट एकजना पूर्व मन्त्री यहाँ आउनुभएको थियो । संसारमै सबैभन्दा धेरै पटक अर्थात् १४ पटक मन्त्री बनेर रेकर्ड कायम गर्ने सम्भवतः उहाँ नै पहिलो व्यक्ति हो । हामीसँगको सान्निध्यमा वहाँले एकपटक प्रधानमन्त्री हुने इच्छा छ भनेर बताइरहँदा हामीले तपाई निश्चिन्त रहनुहोस्, सकारात्मक सोच बनाउनुहोस्, तपाईंले चिताएको पुग्ने छ भनेर आशीर्वाद दियौं…।’
गत असार २१ गते माउण्ट आबुस्थित धार्मिक संस्था ब्रह्मकुमारी राजयोग केन्द्रको मुख्यालयमा आयोजित प्रवचन कार्यक्रममा ब्रह्मकुमार सुरजभाइजीले आफ्नो प्रवचनका क्रममा यो कुरा सार्वजनिक गरेका थिए ।
गच्छदारले केन्द्रका विदुषक विदुषीलाई भेट्ने क्रममा आफूले नेपालका विभिन्न मन्त्रालयको विभिन्न समयमा १४ पटक नेतृत्व गरिसकेको र अब प्रम बन्ने इच्छा रहेको बताएको सन्दर्भ उल्लेख गर्दै विदुषक सुरजभाइजीले यो प्रसंग उल्लेख गरेका थिए ।
विक्रम सम्वत् २०४८ देखि २०७४ सम्मको अवधिमा सञ्चार, जलस्रोत, भौतिक योजना, गृह, रक्षा, स्थानीय विकास, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको नेतृत्व सम्हालिसकेका गच्छदारले भौतिकमा सातपटक, गृह दुईपटक र स्थानीय विकास दुईपटक गरी हालसम्म १४ पटक मन्त्री हुने रेकर्ड कायम गरेका छन् । गच्छदार गत असार १३ गते भारत पश्चिम बंगालको बागडोगरा विमानस्थल हुँदै दिल्ली उडेका थिए ।
गच्छदारसँग उनकी श्रीमती निर्मला, कान्छो छोरा सुभाष र नाताले सालो तथा विराटनगरमा गच्छदारकै लगानी रहेका व्यापारिक संस्थाको रेखदेख गर्ने व्यापारिक सहयोगी भवेश श्रेष्ठसहित दिल्ली गएका थिए । चिने÷जानेका व्यक्तिलाई माउण्ट आबु जाने र त्यहाँको सत्संगमा केही दिन बिताएर आँखाको उपचारार्थ त्यतैबाट अमेरिका जाने बताएका गच्छदार माउण्ट आबुमा केही दिन बिताएर दिल्ली फर्केका थिए ।
दिल्लीमा उनले अर्का भारतीय गुरु श्रीश्रीश्री रविशंकरको मध्यस्थतामा भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय गुप्तचर संस्था ‘र’का नवनियुक्त प्रमुख सामन्त गोयलसँग समेत भेटेको बुझिएको छ । डोभल र गोयलसँगको भेटपछि निर्मला र भवेशलाई माउण्ट आबुमै छाडेर सुभाषसँग लगत्तै अमेरिका उडेका गच्छदार साउनको दोस्रो साता नयाँदिल्ली हुँदै सपरिवार काठमाडांै फर्कने पारिवारीक सूत्रले बताएको छ । विमर्शका अनुसार, गच्छदार सत्तामा हुने सम्भावित फेरवदलमा सबै उपाय अपनाएर सरकारको नेतृत्व गर्ने फिराकमा छन् ।




