
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक सोचका धनी हुन्। शब्द चयन, विषय, प्रसंग र समय सापेक्ष उखान टुक्का मिलाएर भाषणा दिन सक्ने व्यक्तिका रुपमा उनले आफ्नो परिचय बनाएका छन्। यसका साथै कार्यक्रममा ढिला आउने र लामो भाषण गर्ने कला पनि उहाँसँग छ। शनिबार यस्तै भयो।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा संञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी गराइए पनि उनले झण्डै ४५ मिनेट भाषण गरे। भाषणमा गंगालाल अस्पतालको स्थापनादेखि पौराणिक, ऐतिहासिक महत्व राख्ने धेरै कथाका विषयवस्तु जोडिए। त्यो पनि सिलसिलाबद्ध रुपमा मिलाइमिलाइ।
उनको भाषणमा सुरुको कथा थियो- जमदग्निले श्रीमतीलाई काटेको विषय। ‘जमदग्निले श्रीमतीलाई काटे। छोरा परशुरामले बुबा मैले तपाईको आज्ञा त मानेँ। मेरो माग पूरा गरिदिनुपर्यो। जो तपाईंले वचन दिनुभएको थियो। मेरी आमालाई फेरी जस्ताको तस्तै ब्युँझाइदिनोस्। अनि जमदग्नीले अपरेसन गरेर ब्युँझाइदिए। जस्ताको तस्तै बनाइदिए।’
दोश्रो कथा थियो- रामायण कालमा लक्ष्मण लंकामा घाइते भएको। ‘लक्ष्मण युद्धमा घाइते भए। बेहोस भए। कोमामा गए। औषधीको थलो भनेको त फेरि हिमालय पर्वत हो। जाऊ हिमालयमा गएर औषधि लिएर आउ भनी हनुमानलाई भनियो। उनले औषधी बोकेर गए। लक्षमण ब्युँझिए।’
तेश्रो कथा थियो- पार्वतीका छोराको शिर हराएको। ‘शनिको नजर पुग्ने बित्तिकै पार्वतीका छोराको शिर हराएको भयो। आपत् पर्यो। त्यसपछि छेउमा जे भटिन्छ त्यसको टाउको लेऊ भनियो। हात्तीको टाउको ल्याएर जोडे। म्याचिङको प्रोब्लम पनि मिलाएका रहेछन् त्यत्तिबेला,’ प्रधानमन्त्रीले पौराणिक कथा सुनाउँदा दर्शकवृत्तमा हाँसो फैलिरहेको थियो।
परापूर्वकालमा आश्विनीकुमारलगायत ऋषिले धन्वन्तरि आयुर्वेदको परम्परा अगाडि बढाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पुर्खाहरुले अन्धविश्वासमा मात्रै नभई प्रयोगको अवधारणा अघि बढाएको बताए। पुर्खाहरुले स्वास्थ्य सम्बन्धी सबै समस्याको समाधान जडीबुटीबाट नै गरेको र स्वास्थ्यकर जीवन बिताएको भन्दै उनले आफ्नो भने ६७ वर्षकै उमेरमा कमजोर भएको र बुद्धिबंगारा पनि फुस्किएको बताए।
‘म ६७ वर्ष पूरा हुन लागेँ। हिजो बेलुका मेरो दाहिनेपट्टिको माथिल्लो भागको बुद्धिबंगारो आफैं खुस्कियो। १ सय १ वर्षमा मेरो हजुरआमाले भुटेको मकै भटमास चपाउनुहुन्थ्यो। संयोग कस्तो परेछ। मेरो चाँहि हिजो बेलुका मात्रै दाहिनेपट्टिको माथिल्लो बुद्धिबंगारो खुस्कियो। छामेर हेरेँ। जरा पनि छैन। रगत पनि आएन। कति असक्त भएको रहेछ,’ उनले भने।
नेपालको भूगोल नै औषधि उम्रने तथा जन्मने र हुर्कने किसिमको भएको र जडीबुटीको प्रयोगमा पुर्खाहरुको असाधारण रहेको उल्लेख गर्दै उनले आधुनिक उपचार पद्धतिमा प्राप्त गरेको सफलता तिनै पुर्खाको जेनेटिक मेमोरीका कारण भएको बताए।
‘त्यो कल्पना असंभव कल्पना मात्रै थिएन। पुष्पक विमान परापूर्व कालमा कल्पना गरिएको थियो। अनौठो लाग्छ। पुष्पक विमान लिएर रामलाई लिन लंका गइयो। एयरपोर्ट बनाएको थिएन। पुष्पक विमान हेलिकप्टरझैं ल्याण्ड गर्थ्यो र हेलिकप्टर झैँ टेकअफ गर्थ्यो। एयरपोर्टको चाँहि कहीँ वर्णन पाईँदैन,’ प्रधानमन्त्री ओलीले भने।
आधा दर्जन बढी पौराणिक, ऐतिहासिक कथाका विषयवस्तुहरु राखेका प्रधानमन्त्री ओलीले भाषणको अन्त्यमा पुग्नै लाग्दा आफू अस्वस्थ रहेको तर भाषण भने लामो गरेको स्वीकार गर्दै नक्कले बिरामी भन्ने भान हुने हो कि भन्दै ठट्टा गरे।
‘कल्ले पत्याउने? स्वास्थ्य त्यत्ति राम्रो नभएर नआउने भनेर सुतिरहेको थिएँ। हैन आउनु न त भनेर अलि जोडै गरेपछि उठेर आएको हुँ। बोल्दै जाँदा लामो भएपछि यो नक्कली बिरामी हो कि क्या हो भन्ने पर्ला। म अस्थायी बिरामी हुँ। यो नक्कली चाँहि होइन,’ उनको ठट्यौली थियो।
अस्पतालले स्थापनाकालदेखि अहिलेसम्म १७ हजार बिरामीको ओपनहर्ट सर्जरी गर्न सफल भएकोमा धन्यवाद दिँदै आगामी दिनको सफलताको पनि कामना गर्न भने छुटाएनन्।स्वास्थ्यखबर