
प्रहरीले लागुऔषध तस्करी नियण्त्रणमा कडाइ गर्न शुरु गरेपछि र पुराना तथा नयाँ लागुऔषधप्रयोगकर्ताहरुलाइ निगरानी बढाएपछि तस्करीमा प्रहरीले शंका नगर्ने खालका ब्याक्तिहरुको प्रयोग बढेको पाईएको छ । तस्करीको नयाँ शैली र नयाँ उपाय अपनाउदै नयाँ ब्याक्तिहरु नै लागुऔषधको तस्करीमा संलग्न हुने गरेको पाइन थालेको जनाईएको छ ।
पछिल्लो समयमा लागुऔषधको कारोबार जेष्ठ नागरिक र बालबालिकाहरुको प्रयोग बढिमात्रमा हुने गरेको सूचना प्राप्त भइरहेको प्रहरी श्रोतको भनाइ रहेको छ । महिला तथा बालबालिका र जेष्ठ नागरिकहरुलाइ लागुऔषधको कारोबारीहरुले प्रयोग गर्ने गरेको पाईएपछि प्रहरीले यसमा चासो राख्न थालेपछि यस्ता ब्याक्तिहरु पक्राउ पनि पर्न थालेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
केहि समयअघि ठूलो परिमाणमा गाँजा सहित एक जेष्ठ नागरिक पक्राउ परेपछि यसलाइ प्रहरीले गम्भिरताका साथ अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताउनु भयो । दमकबाट स्कूटिमा हालेर गौरादहतर्फ लैजादै गर्दा ६० बर्ष उमेर काँटेका दमकका टेकबहादुर लिम्बुलाइ पक्राउ गरिएको र उनको साथमा रहेको १६ केजि गाँजा पनि बरामद गरिएको लिम्बुले बताउनु भयो ।
मे ४ प ९०८२ नम्बरको स्कूटिमा कसैले शंका नगर्ने किसिमले बोरामा हालेर लैजादै गर्दा कमल गाँउपालिकामा पर्ने पाडाजुङ्गी गौरीगन्ज सडक खण्डको मंगलवारेबाट लिम्बुलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अहिलेसम्म पक्राउ गरिएको लागुऔषधमध्ये यतिधेरै गाँजा एकैसाथ एक ब्याक्तिबाट दमकमा पक्राउ परेको यो पहिलो घटना भएको पनि प्रहरी प्रमुख लिम्बुले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख लिम्बुका अनुसार पत्यान नै नसकिने महिला तथा जेष्ठ नागरिकहरुलाइ प्रयोग गरेर लागुऔषधको सञ्जाल फैलाउने काम भइरहेको सूचनालाइ प्रहरीले सुक्ष्म अध्ययन गरेर निगरानी बढाएको छ । केहि त्यस्ता शंकाश्पद ब्याक्तिहरु अहिले पनि निगरानीमा रहेको समेत उहाँले बताउनु भयो । बिभिन्न प्रलोभनमा पारेर जेष्ठ नागरिक, महिला र बालबालिकाहरुलाइ गिरोहहरुले प्रयोग गर्ने गरेको हुनसक्ने भएकाले यस बिषयलाइ गम्भिरताका साथ लिइने उहाँले जनाउनु भयो ।
जेष्ठ नागरिकलाइ अरुले वास्ता पनि नगर्ने र प्रहरीले जाँचमा पनि त्यति धेरै महत्व नदिने भएकाले प्रयोग भइरहेको पाइन्छ । लिम्बुका अनुसार केहि समय अघि एकजना ७३ बर्षिया महिलालाइ पनि लागुऔषध ओसारपसार तथा बिक्रिबितरणको अभियोगमा पक्राउ गरेर मुद्धा चलाईएको थियो । त्यसपछि सबै उमेर समुहका ब्याक्तिहरु यसमा संलग्न हुनसक्ने र भइरहेको ठहर गरेको उहाँले बताउनु भयो ।



