काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमवार इस्लामावादमा आयोजित राष्ट्रिय अल्पसंख्यक दिवसमा आयोजित कार्यक्रममा कसैलाई जबरजस्ती मुसलमान बनाउन नहुने बताए । बन्दुक देखाएर या कसैको जबरजस्ती बिहे गराइदिएर मुसलमान बनाउनु गैर-इस्लामी चरित्र भएको खानको दाबी थियो ।
खानले भने, ‘यस्तो शक्ति त अल्लाहले पैगम्बर मोहम्मदलाई पनि दिएका थिएनन् । जब अल्लाहले मोहम्मदलाई यस्तो अधिकार दिएका थिएनन् भने हामी को हौँ अरूलाई जबरजस्ती मुसलमान बनाउने ?’
पाकिस्तानमा अल्पसंख्यक रूपमा रहेका हिन्दू धर्मावलम्बीहरूमाथि त्यहाँका बहुसंख्यक मुस्लिमले अत्याचार गरेको खबर बेलाबेलामा आउने गर्छ । यहाँसम्म कि हिन्दूहरूले आफ्नो रितीरिवाज अनुसार बिहे गरे भने पाकिस्तानमा बिहे दर्ता नै नहुने समस्या पनि छ ।
यसअघिका पाकिस्तानी प्रधानमन्त्रीहरू अल्पसंख्यक हिन्दूहरूको पक्षमा खासै बोलेका थिएनन् । तर प्रधानमन्त्री खानले मान्छेले जुन धर्म मान्छ त्यो अल्लाहको हातमा हुने भन्दै जबरजस्ती कसैलाई पनि धर्मपरिवर्तन गराउन नहुनेमा जोड दिए । उनले भने, ‘इस्लाम र कुरानमा जबरजस्ती गराउनुपर्ने केही काम उल्लेख छैन ।’



