काठमाडौं – रुसको एक यात्रुवाहक विमानका दुवै इन्जिनमा चराको बथान पसेर बन्द भएपछि विमानको आकस्मिक अवतरण गराइएको छ । युराल ए३२१ विमान मस्कोको झुकोव्स्की विमानस्थलबाट बिहीवार बिहान उड्दा चराहरू ठोक्किन आइपुगेका थिए । चरा ठोकिएका कारण एउटा इन्जिनमा आगो लागेको थियो अनि अर्को बन्द भएको थियो ।

विमानमा २२६ यात्रु र सात विमान कर्मचारी थिए । तीमध्ये २३ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा एक गर्भवती महिला र नौ बालबालिका समेत छन् । कसैलाई पनि गम्भीर चोटपटक लागेको छैन ।

पाइलट दामिर युसुपोले विमानस्थलमा सम्पर्क गरेर आकस्मिक अवतरणका लागि अनुरोध गरेका थिए । तर पछि उनैले मस्कोको रामेन्स्कोये बस्तीनजिकको मकैबारीमा विमान अवतरण गर्ने निर्णय लिए ।

यात्रुहरूले एउटा इन्जिनमा आगो लाग्दा झिलिक्क भएको देखिएको अनि धूवाँको गन्ध आएको बताए । त्यतिखेरै दोस्रो इन्जिनले पनि काम गर्न छोडेको थियो ।
इन्जिनमा चराहरू अड्किन आइपुगेका थिए ।

एक यात्रुले भने, ‘हामीहरू खेतको बीचमा छौं । एक बालकको हात भाँचिएको छ भने अर्काको औंला भाँचिएको छ । उनीहरूले हामीलाई केही भनेनन् । इन्जिन धेरैचोटि फटफट गर्‍यो । उनीहरूले त्यसलाई पुनः चालु गर्न खोजे र हामी तल झर्न थाल्यौं । मैले घाँटीमा क्रस समातेको थिएँ र म अहिले ईश्वरमा विश्वास गर्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय