काठमाडौं – जम्मु–कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरस्थित डल तालको किनारमा बनाइएको सेन्टूर होटलमा ५० भन्दा बढी कश्मीरी नेताहरूलाई बन्धक बनाएर राखिएको छ ।

ती नेताका नातेदारलाई सोमवार भेट्न दिइएको थियो । आफन्तले नेताहरूका लागि कपडा, फल तथा अन्य सामान ल्याएका थिए । जम्मु–कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० खारेज गरिएपछि यसै होटलमा नेताहरूलाई थुनिएको हो ।
नेताहरूसँग भेटेका एक नातेदारले भने, ‘होटल त जेल जस्तै हो तर मेरो छोरो ठीक छ भनी देख्दा खुशी लागेको छ ।’उनले थपे, ‘हामीलाई केही मिनेटसम्म होटलको कोठाबाहिर ग्यालरीमा जान दिइएको थियो । छोरोले आफ्नो रेखदेख राम्ररी भइरहेको तर बाहिर के भइरहेको थाहा नभएको बतायो । भेट्न आएका मानिस र अखबार नै उनीहरूको सूचनाको स्रोत हो ।’
होटलमा नेसनल कन्फरेन्स, पीडीपी र कांग्रेसका वरिष्ठ नेताहरूलाई बाहिरको घटनाक्रमको जानकारी प्राप्त भइरहेको छ ।मूलधारको राजनीति गर्ने एक कश्मीरी नेताका सहयोगीले भने, ‘नेताजी कश्मीरमा राजनीतिक स्थितिका विषयमा चिन्तित छन् । हामीहरूले केही सामान लिएर गएका थियौं तर सुरक्षाकर्मीहरूले चुरोटको प्याकेट चाहिँ लान दिएनन् ।’
एक सुरक्षाकर्मीले भने, ‘नेताहरूलाई जेलमा जस्तो गरी बस्न अनुमति दिइएको छ । होटलमा टीभी छैन र उनीहरू अखबार र किताब पढेर आफूलाई व्यस्त राखिरहेका छन् ।’ एजेन्सी



