
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले व्यवस्थापिका–संसद्को तलब–भत्ता खाएर मधेस कब्जा गर्ने चेतावनी दिएका छन् । मंगलबार राजकुमार लेखीले नेतृत्व गरेको नागरिक समाजवादी पार्टीसँग एकीकरण भएको घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘हामी व्यवस्थापिका संसद्को तलब–भत्ता खाएरै मधेसमा आन्दोलन गर्छांै,’ संसद्को भत्ता खाएर संविधानकै विरोध गर्दै आन्दोलन गर्न मिल्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको झोंक्किएर उत्तर दिँदै महतोले भने, ‘संसद्को भत्ता खान छाडेर मधेस जाने हो भने हामी आगो बाल्छौँ । अहिले मधेस कब्जा गर्न लागिरहेका छौं । तलब–भत्ता खाएरै आन्दोलन गर्छौं ।’
उनलाई सञ्चारकर्मीले कब्जा भनेको तपाईंहरूले नै चलाउने भनेको हो भन्ने प्रश्न गर्दा उनले फेरि भने, ‘हो, अहिले मधेस कांग्रेस, एमाले र माओवादीले कब्जा गरेका छन् । अब हामी पूरै कब्जा गर्छौं ।’
उनले संविधान संशोधन नभई तराईमा निर्वाचन हुन नसक्ने पनि चेतावनी दिए । ‘हामी निर्वाचनका विरोधी होइनौं,’ उनले भने, ‘तर, हाम्रा माग पूरा नभई तराईमा निर्वाचन कुनै हालतमा हुन दिदैनौं । हामीले निर्वाचन बिथोल्ने रणनीतिले नै आन्दोलनको घोषणा गरेका छौं ।’
उनले मधेसी जनताको साथ लिएर तराईमा आन्दोलन गर्ने पनि चेतावनी दिए । संविधानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको भन्दै उनले त्यसको सबै जिम्मेवारी ठूला दलले लिनुपर्ने जिकिर गरे ।



