काठमाडौं – अविवाहित विदेशी जोडीले साउदी अरबको होटलमा कोठा लिएर सँगै बस्न सक्ने भएका छन् । साउदी सरकारले नयाँ भिजा नियमको घोषणा गरेको छ ।

यसबाहेक कुनै पनि महिलाले होटलमा कोठा लिएर एक्लै बस्न सक्छिन् । यसअघि जोडीहरूले विवाहित रहेको साबित गर्नुपर्थ्यो ।

साउदी सरकारले पर्यटनलाई प्रोत्साहन गर्ने कोशिशअन्तर्गत यो पहल गरेको हो ।

साउदी आउने विदेशी जोडीहरूले विवाहको कागजात देखाउनुपर्ने हुन्थ्यो । तर अब पर्दैन ।

साउदीको पर्यटन र राष्ट्रिय सम्पदा मन्त्रालयले बयान जारी गरेर भनेको छ, ‘नयाँ भिजा नियमअनुसार महिला पर्यटकहरूले आफूलाई पूरै ढाक्न पनि आवश्यक छैन तर उनीहरूले मर्यादित कपडा लगाउने अपेक्षा गरिन्छ । रक्सीमा चाहिँ प्रतिबन्ध छ ।’

साउदी अरब पृथ्वीको सबभन्दा कन्जर्भेटिभ देशमध्ये एक हो । तर खुला बजार अर्थतन्त्र भएको साउदी अब आफूलाई बन्द राखिरहन चाहँदैन । उसले विदेशी पर्यटक आऊन् र लगानी बढोस् भन्ने चाहना राखेको छ ।’

साउदीका युवराज मोहम्मद बिन सलमानले घोर रूढिवादी मुलुकमा परिवर्तन ल्याएका छन् । महिलाहरूले गाडी चलाउन प्रतिबन्ध थियो, त्यो पनि फुकुवा गरिएको छ । अनि साउदी महिलालाई पुरुष अभिभावकविना विदेश जान प्रतिबन्ध लगाइएकोलाई पनि हटाइएको छ ।

यसबाट विदेशी पर्यटकको संख्या बढ्ने विज्ञहरूले बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय