जापानमा आएको भीषण आँधीपछि उद्धारका लागि हज्जारौं जवान र उद्धारकर्मी तैनाथ गरिएको छ । यो आँधी ६० वर्ष यताकै शक्तिशाली आँधी मानिएको छ । आँधीका कारण कम्तीमा २३ को मृत्यु भएको छ ।
आँधी हगिबिस शनिबार राजधानी टोकियोको दक्षिण–पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमिमा स्थानीय समयानुसार बेलुकी करिब सात बजे ठोक्किएको थियो ।
सरकारी समाचार प्रसारक एनएचकेका अनुसार आँधीका कारण १३ जना हराइरहेका छन् ।
मध्य नगानो प्रान्तमा जापानको चर्चित बुलेट ट्रेनहरुका वरिपरि पानी जमेका छन् जबकी हेलिकोप्टरमार्फत् छतमा फसेका व्यक्तिहरुको उद्धार गरिँदैछ ।
अधिकारीका अनुसार सेनाका कुल २७ हजार जवान र अन्य उद्धारकर्मीलाई राहत अभियानका लागि तैनाथ गरिएको छ ।
प्रधानमन्त्री शिन्जो अबेले आवश्यकता पर्दा अन्य थप जवान तैनाथ गर्ने बचन दिँदै ‘सरकारले पूर्ण कोसिस गर्ने’ बताएका छन् ।
यद्यपि, आइतबार आँधी कमजोर भएको थियो ।
वृद्ध महिला हेलिकोप्टरबाट तल खसिन्ः
टोकियोको उत्तर कावागोई शहरमा एक नर्सिंग होममा फसेका स्थानीयको मद्दतका लागि अधिकारीले डुङ्गाको प्रयोग गरे ।
टोकियोको वृहद इलाकामा करिब एक लाख ५० हजार घरमा बिजुली छैन र वर्षा पनि भइरहेको छ । हगिबिस पुनः सक्रिय हुने आशंकाका कारण रेल र विमान सेवा रद्द गरिएको छ ।
थुप्रैको पहिरोमा दबिएका कारण वा बाढीको पानीमा बगेका कारण मृत्यु भएको छ ।
अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले दिएको खबर अनुसार एक हेलिकोप्टरद्वारा बचाइएकी ७० वर्षीया एक महिला दुर्घटनावश तल खस्दा मृत्यु भएको छ ।
जापानका केही क्षेत्रमा केही दिनभित्र औसत वर्षा ४० प्रतिशतसम्म भयो ।
माउन्ट फुजी नजिकैको होकेने शहरमा शुक्रबार र शनिबार एक मिटर (३ फुट) वर्षा भयो र ४८ घण्टामा जापानमा सबैभन्दा धेरै वर्षा भएको छ ।
वर्षाका कारण खेत र गोदाममा पानी जम्मा भएका छन् ।
टोकियोको उत्तर–पश्चिम हिगाशी मतसुयामा शहरमा एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई भने, ‘हामीले यसअघि यस्तो प्रकारको बाढी कहिले पनि देखेका थिएनौं ।’
खेल रद्दः
यो आँधीका कारण रग्बी विश्वकपका केही खेल रद्द भएका छन् । यद्यपि, जापान र स्कटल्याण्डबीच एक प्रमुख म्याच आइतबार खेलिनेछ । Photo: Reuters



