विष्णुप्रसाद पोखरेल
दमक । धार्मिक सहिष्णुता, एकता, सकारत्मक सोच र सरकारले घोषणा गरेको पर्यटन बर्ष सन् २०२० को सफलताको कामना सहित झापाको गौरादहमा एकैपटक १ करोड दिप प्रज्वलन गरिने भएको छ । आध्यात्मिक सास्कृतीक पर्यटन महोत्सव सहित एकैसाथ १ करोड दिप प्रज्वलन गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।
नेपाल मानव धर्म सेवा समितिको संयोजन र स्थानीय लायन्स क्लव, जेसिस लगायतका सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजनामा मंसिर ८ गतेदेखि १६ गतेसम्म बहु धार्मिक आध्यात्मिक सास्कृितक महोत्सव लाग्ने जनाईएको छ । आइतवार गौरादहमा पत्रकार सम्मेलन गरेर यस बिषयमा जानकारी दिईएको छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक डा. तिलक खनालका अनुसार सबै धर्मको एउटै साझा मञ्च बनाएर धार्मिक गुरुहरुमार्फत नकारत्मक धारणा हटाउनका लागि गम्भिर बहस तथा प्रवचनहरु हुनेछन् । धार्मिक पर्यटक र सम्भावानाहरुको बिषयमा समेत बृतचित्र, चित्रकला लगायतका प्रदर्शनीहरु गरिने उहाँले जनाउनु भयो । सबै धर्म र जातीहरुको साझा महोत्सवको रुपमा यसलाइ लिईएको छ, डा. खनालले भन्नुभयो ।
महोत्सव अवधिमा कम्तिमा पनि १ लाख पर्यटक भित्र्याउने उदेश्य रहेको पनि उहाँले जानकारी दिनु भयो । महोत्सवको अन्तिम दिन विश्व शान्तिको कामना, धार्मिक एकता तथा सहिष्णुता र पर्यटन बर्ष सन् २०२० को सफलताको कामना सहित १ करोड दिप प्रज्वलन गरिने पनि खनालले बताउनु भयो । उक्त दिप घरघरबाट ब्याक्तिगत रुपमा र बिभिन्न समुह तथा संघसंस्थाबाट सामुहिक रुपमा ल्याईने समेत उहाँले बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा गौरादह वडा नं. १ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले ऐतिहासिक, धार्मिक तथा सास्कृतीक पहिचान सहितको लोपन्मुख अवस्थामा पुगेका परम्परागत नृत्य तथा सस्कृतीलाइ देखाइने भएकाले नगरपालिकाको समेत पहिचान अभिबृद्धि हुने विश्वास लिईएको बताउनु भयो । यस प्रकारको महोत्सव यो यस क्षेत्रमा पहिलो पटक हुन लागेकाले साझा महोत्सवको रुपमा अघि बढाउनु पर्छ, उहाँले भन्नुभयो ।
नेपाल मानव धर्म सेवा समिति गौरादहकी सन्त बाइजीले नाँचगान, होहल्लालाइ मात्र महोत्सव भनिदै आएकोमा सकारत्मक सोच विकास गराउने र मानिसलाइ सहि बाटोतर्फ मार्गदर्शन हुने गरी प्रेरणा दिने महोत्सवको रुपमा यसलाइ लिईएको बताउनु भयो । सबै उमेर समुहका आएर यहाँ केहि न केहि ज्ञान र सहि मार्गमा हिड्न प्रेरित भएर घर फर्कने विश्वास लिन सकिन्छ, उहाँले भन्नुभयो ।




