काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप लगाउने एक महिला पत्रकारले अहिले ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन् ।
पत्रकार जीन क्यारोलले ट्रम्पमाथि बलात्कारको आरोप गत जुन महिनामा लगाएकी थिइन् र ट्रम्पले त्यसलाई ठाडै अस्वीकार गरेका थिए ।
ट्रम्पले २३ वर्षअघि न्युयोर्कको म्यानह्याटनस्थित बर्गडोर्फ गूडम्यान डिपार्टमेन्ट स्टोर्सको ड्रेसिङ रूममा आफ्नो बलात्कार गरेको उनको दाबी छ ।
सोमवार म्यानह्याटनस्थित एक अदालतमा उनले मानहानिको मुद्दा हालेर ट्रम्पले लगातार झूटा ट्वीट गरेर आफ्नो गरिमामा आघात गरेको दाबी गरेकी छन् ।
एक पत्रिकामा सल्लाहकार स्तम्भ लेख्ने क्यारोलले ट्रम्पको झूटबाट आफ्नो सत्यनिष्ठा, इमान्दारी र प्रतिष्ठामा दाग लागेको निवेदनमा लेखिन् ।
क्यारोलले ट्रम्पमाथि बलात्कारको आरोप एक लेखमा लगाएकी थिइन् । त्यतिखेर उनी एक किताब प्रकाशित गरिरहेकी थिइन् । उक्त किताबमा बलात्कारको प्रसंग छ ।
तर ट्रम्पले क्यारोलको कुरालाई झूटो भन्दै किताबको बिक्री बढाउनका लागि तथा राजनीतिक एजेन्डाले प्रेरित भएर आफूमाथि आरोप लगाइएको बताएका थिए ।
ट्रम्पले भनेका थिए, ‘डेमोक्रेटिक पार्टीसँग मिलेर षड्यन्त्र रच्ने प्रयासअन्तर्गत अनि पैसा कमाउनका लागि यो आरोप लगाइएको हो ।’ एजेन्सी




