
चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको अवधिमा इलाका ट्राफिक प्रहरी कार्यालय दमकको कार्य क्षेत्रमा सवारी दुर्घटनामा २१ जनाले ज्यान गुमाए। चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म भएका एक सय १३ दुर्घटनामा यो संख्यामा मानिसहरूको मृत्यु भएको हो।
ती दुर्घटनामा मृत्यु हुनेमा ५ महिला रहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज दिनेशचन्द्र अधिकारीले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाउनेहरू अधिकांश पैदलयात्री, साइकल यात्री र मोटरसाइकल चालक छन्।
उक्त अवधिमा धेरैजसो मोटरसाइकल दुर्घटना भएको अधिकारीले बताए। ‘मोटरसाइकल धेरैजसो लाइसेन्सविनै चलाउँछन्’, उनले भने, गति पनि तीब्र हुन्छ, त्यसैले दुर्घटना बढेको हो।’
नियम उल्लंघन गर्ने सवारीलाई कारवाही गर्दा कूल ५६ लाख ८ हजार रुपैयाँ राजस्व उठेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ। उक्त अवधिमा ९ हजार ३ सवारी कारवाहीमा परेका छन्। कारबाहीमा पर्नेमा सबैभन्दा धेरै ४ हजार ३ सय ६५ मोटरसाइकल रहेको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सो अवधिमा दमकका विभिन्न प्वइण्टमा जाँचका क्रममा मादक पदार्थ सेवन गरेको अवस्थामा सवारी चलाउने २ सय ६५ जनालाई जरिवानासहितको कारबाही गरेको छ। मादक पदार्थ खाएर सवारी चलाउने चालकको लाइसेन्समा एउटा प्वाल पार्ने र एक हजार जरिवाना गरिएको ट्राफिकले जनाएको छ।
लाइसेन्स नबनाई सवारी चलाउने चालकलाई भने मापसे गरेको अवस्थामा फेला पारेको खण्डमा जनही दुई हजार रुपैयाँ जरिवाना तिराउने गरेको छ। दुर्घटना न्युनीकरणका लागि सचेतनामूलक काम गर्दै आएको ट्राफिकले जनाएको छ।
दमक र उर्लाबारीको सीमाक्षेत्र ताराबारी, पशुहाट, बेलडाँगी रोड लगायतका स्थानमा साँझदेखि नै सवारी जाँचसँगै मापसे जाँच गर्ने गरेको अधिकारीले बताए। ट्याक्टरका कारण धेरै दुर्घटना भएको पाइएकाले रिफ्लेक्टर लगाउन सुरु गरेको उनले जानकारी दिए।



