बर्लिन : शिख र कश्मिरी समुदायको जासुसी गरेको आरोप सहित जर्मनीमा भारतीय एक जोडीलाई पक्राउ गरी अनुसन्धान गरिँदैछ ।
५० वर्षीय मनमोहन एस र उनकी पत्नी ५१ वर्षीया कन्वल जित कौर पक्राउ परेका हुन् । फ्रांकफर्टस्थित अदालतले उनीहरुका गतिविधिबारे अनुसन्धान गरेको जनाएको छ ।
केहीअघि सार्वजनिक एक रिपोर्टमा उनीहरुले जासुसी गरेको उल्लेख गरिएपछि उनीहरु शंकाको दायरमा परेका हुन् । मनमोहनले जर्मनीमा रहेका शिख र कश्मिरी समुदायका आफन्तबारे व्यक्तिगत जानकारी भारतीय अनुसन्धान विभाग ‘र’का कर्मचारीलाई उपलब्ध गराएको बताइएको छ ।
२०१७ जुलाइदेखि डिसेम्बरसम्म भएका भारतीय जासुसी अधिकारीहरुसँगको मासिक बैठकमा मनमोहनकी पत्नी पनि सहभागी भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । जुन बैठकमा सहभागी भए वापत उनीहरुले मोटो रकम पाउने गरेको बताइएको छ । उनीहरुमाथिको आरोप यदी सही सावित भए १० वर्षसम्म जेल सजाय भोग्नु पर्नेछ ।



