काठमाडाैं/ अमेरिकाको साउथ डकोटा राज्यमा भएको विमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर विमान दुर्घटनामा परेकाे हाे। विमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन्।

मृत्यु हुनेहरुमा दुई बालबालिका समेत रहेका छन्। एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त विमान शनिबार च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत्यु हुनेहरुमा विमानका पाइलट पनि रहेका छन्। विमानमा कूल १२ जना सवार थिए। उक्त विमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय विमानस्थलतर्फ उडिरहेको थियो।

अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अमेरिकी नागरिक उड्डयन कार्यालयले उक्त विमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ। साउथ डकोटाको च्याम्बरलिन क्षेत्रमा बाक्लो हिउँ सहितको आँधी आएका कारण विमानका उडानहरु प्रभावित भएका छन्।(रासस/एएफपी)