
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी आफ्नो पार्टी सरकारमा नरहेको अवगत गराएका छन् ।
काँग्रेस र माओवादी केन्द्रले आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएकामा तीव्र आपत्ति जनाएका उनले मन्त्रिपरिषदमा बसेर काम गर्न नसकिने जानकारी प्रचण्डलाई गराएका हुन् । थापाले कार्कीविरुद्धको महाअभियोगलाई आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै सरकार छाड्ने जानकारी दिएका हुन् । थापाले राजीनामा पत्रसमेत तयार पारिसकेका छन् ।
यद्यपि औपचारिक रुपमा भने सोमबार केन्द्रीय समिति बैठकबाट निर्णय गरिने उनले बताए । ‘मैले करिब करिब चिठी तयार पारिसकेको छु । प्रधानमन्त्रीलाई टेलिफोन गरेर तपाईंको मन्त्रिपरिषदमा बसेर मलाई काम गर्न अप्ठेरो हुन्छ भनिसकेको छु’, बीबीसी नेपाली सेवाका लागि पत्रकार फणिन्द्र दाहालसँग कुरा गर्दै थापाले भने, ‘पार्टीको कार्यसम्पादन समितिको बैठकले अबको रणनीति र सरकारसँगको सम्बन्ध के हुन्छ भन्नेबारेमा निर्णय गर्छौं ।’
भेटेर कुरा मिल्यो भने सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने प्रश्नमा थापाले भने, ‘मैले प्रधानमन्त्रीलाई आफ्नो तर्फबाट संकेत गरिसकेको छु, पार्टीको संस्थागत निर्णय भोलि आउँछ ।’ थापाले महाअभियोगको निर्णय स्वतन्त्र न्यायपिकाको कार्यक्षेत्रमाथि गम्भीर प्रहार भएको टिप्पणी गरे । उनले सत्तासाझेदारका हैसियतमा प्रधानमन्त्री र काँग्रेसले परामर्श नै नगरेको भन्दै आपत्ति जनाए ।
‘सत्ता साझेदार दल भएर पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग काँग्रेस र माओवादी केन्द्रका नेताहरुले, प्रधानमन्त्री शेरबशादुरजीले सल्लाह गर्नुभएन’, उनले भने, ‘आज मात्र पनि म, प्रचण्डजी र शेरबहादुर देउवाजी सँगै थियौं, तर उहाँहरुले त्यसको संकेतसम्म गर्नुभएन ।’
थापाले फरक सन्दर्भमा कुरा भइरहेका बेला एक साताअघि काँग्रेस सभापति देउवाले सुशीला कार्कीलाई महाअभियोग लगाउने चर्चा चलाएको र त्यतिबेलै आफूले त्यस्तो कदम चालिए दुर्भाग्यपूर्ण र प्रत्युत्पादक हुने भन्दै सचेत गराएको बताए ।
थापाले महाअभियोग दर्ता भएको विषयमा सञ्चार माध्यमबाट थाहा पाएको र आफू उक्त निर्णयले स्तब्ध भएको पनि बताए । थापाले महाअभियोगको दुस्परिणाम आगामी दिनमा देखिँदै जाने बताए ।



