
आइतबार दिउँसो प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सबैभन्दा धेरै प्रहार नेपाली कांग्रेसमाथि भएको छ ।खासगरी एमाले र आफूलाई स्वतन्त्र भन्ने नागरिक समाजका तर्फबाट सामाजिक सञ्जालमा कांग्रेस र सो पार्टीको नेतृत्वविरुद्ध गम्भीर प्रकृतिका आक्षेप लगाइएको छ । यही बीचमा आइतबार साँझ पार्टी मुख्यालय सानेपामा नेपाली कांग्रेस पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठक बस्यो ।
बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.रामशरण महतलगायतका नेताहरू थिए । बैठकमा प्रधानन्यायाधीशलाई किन महाअभियोग प्रस्ताव दर्ता गरियो भन्ने विषयमा छलफल केन्द्रित थियो । खासगरी ३, ४ र ६ नम्बर प्रदेशका स्थानीय तहको उम्मेदवार टुंगो लगाउन बैठक बोलाइए पनि नेताहरूबीच सुशीला कार्कीलाई महाअभियोग लगाउनुको कारण बारे सभापति देउवाले जानकारी गराएका थिए ।
देउवाले प्रधानन्यायाधीश कार्कीले राजनीति गरेकाले उनलाई महाअभियोग लगाउनु परेको बताएका थिए । कार्कीमाथि के के आरोप लगाइएको छन्, ती सबै महाअभियोग प्रस्तावमा उल्लेख गरिएको भन्दै कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेकाले उनीमाथि महाअभियोग लगाउन कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएको स्पष्ट पारेका थिए ।
बैठकमा कांग्रेस शीर्ष नेताहरूबीच महाअभियोग प्रस्तावको पक्षमा निर्णय गरेको छ । केही समयअघि कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा भएको छलफलको विषयलाई लिएर सर्वोच्च अदालतमा निवेदन परेको थियो ।
सो मुद्दामा सर्वोच्चले कांग्रेस र पार्टी सभापतिलाई मानहानिको मुद्दा किन नलगाउने भन्ने आदेश दिएको थियो । पार्टीको बैठकमा भएको छलफलका विषयमा सर्वोच्च अदालतले समेत हस्तक्षेप गरेको विषयलाई लिएर कांग्रेस पार्टी सुशीला कार्कीसँग असन्तुष्ट थियो ।



