-सरगम भट्टराई

प्रिय सुशीला दिदी,

देशमा के भइरहेको छ भन्ने चिन्ता र चाँसोले अचेल मलाई निद्रा लाग्दैन । मलाई मात्रै हैन, धेरै नेपालीहरुलाई निद्रा लागेको छैन । मैले तपाईमा पुनः त्यही चिन्ता देखेको छु । संबिधान सभा–२ ले संबिधान बनाएपछि त्यसको कार्यान्वयनको बाटोमा गइरहँदा स्थानीय चुनाव घोषणाको सुखानुभूति भइरहेका बेला साँझ नपर्दै एकाएक काला बादलहरु मडारिए ।

पूर्वाग्रही राजनैतिक स्वेच्छाचारिताले फेरि एकपटक आफ्नो सीमानाघ्यो । बिधिको शासनमाथि फेरि हठात् आक्रमण भयो, अनि थाहा भयो कि तपाई बिरुद्दमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भयो रे । तपाईको सेवाको अन्तिम प्रहरमा तपाईप्रति प्रतिशोध साँचेर दर्ता गरेको यो महाअभियोग प्रस्ताव चुनाव भाँड्ने मात्र नभई स्वतन्त्र न्यायपालिकामाथि कार्यपालिकाको निर्मम प्रहार हो । यसले देशलाई निकास हैन बिनाशतर्फ धकेल्छ ।

प्रिय दिदी,

तपाईँ त यत्रो जÞिन्दगी न्याय क्षेत्रमा बिताएकी मान्छे । तपाईलाई थाहै छ लोकतन्त्र आएको २८ बर्षको अवधिसम्म पनि प्रजातन्त्र र लोकतन्त्रको सुखानूभूति जनताले कहिल्यै गरेकै छैन । जनता त केवल सत्ता र सत्तावालहरुका काला मैला कर्तुतहरु हेरेर अवाक्क छन । जनताको प्रतिनिधिबाटै बनेको कार्यपालिकाले नै स्वेच्छाचारी काम गर्छ भने अरुको के आश । अरुको के भर ।

हुन त संबैधानिक निकायमा समेत दलीय भागबण्डाअनुसार आउने र जाने काम भइरहेकै हुन्छ । कार्यकारी अधिकारको उपयोग गर्नेमा बिभिन्न संबैधानिक निकायका प्रमुखहरु पनि केही ठाउँमा चुकेकै हुन् ।

तरपनि सामान्य विवेकसम्म गुमाएर सामान्य मान्छेहरुबीच पनि छलफल गर्न नमिल्ने हाँस्यास्पद आरोपहरु लगाएर तपाई जस्तो ब्यक्तिगत या आचरणगत रुपमा निस्कलंक मान्छेमाथि महाअभियोग प्रस्ताव दर्ता गर्नु न्यायिक राज्य माथिको उपहास हो । जुन घटनालाई नेपाली जनताले विधि मरेको दिनको रुपमा चित्रण गरेका छन् र
गर्ने छन् ।

लोकतन्त्रमा राज्यका तीन अंगहरुबीच शक्ति सन्तुलन हुनु र एकले अर्कालाई स्वेच्छाचारी हुनबाट रोक्नु लोकतन्त्रकै अभ्यास अन्तर्गतनै पर्छ । तर एकले अर्कोलाई ईखको भावना राखेर ब्यक्तिगत कारणले महाअभियोग लगाउने निर्णयमा पुग्नु पक्कै राम्रो होइन । केही ब्यक्ति बचाउन सिंगो न्यायालयमाथि प्रहार गर्न तर्फ सरकार लाग्नु बिडम्वना हो ।

उत्कृष्टताको शासनको त के कुरा गरौं र यहाँ, राजनीतिको अंकगणित मिलाउन जसो गर्न पनि पछि नपर्नेहरुले ब्यक्तिगत रुपमा तपाई जस्तो निष्कलंक ब्यक्तिलाई त छाडेनन् भने सामान्य जनताको जीवन कसरी चलेको होला ?

तपाईको छोटो कार्यकालमा भ्रष्टाचार सम्बन्धि तीस प्रतिशत मुद्दाहरु फÞैसला भए । त्यसमध्ये सुडान काण्डमा दोषी ठहरिएका तीन पूर्व आइजीपीहरु त तपाई बिरुद्द महाअभियोग प्रस्ताव दर्ता गर्ने दिनमानै जेल चलान भए । फÞैसला हुन बाँकी भएका धेरै मुद्दाहरु पद र शक्ति दुरुपयोग गरेका कथित ठूला मान्छेहरुको निद यसले हराम गरिदियो । साँच्चै सुशीलाले अब चैनले बस्न दिन्न भन्ने उनीहरुलाई लाग्यो होला । त्यसैले तपाईँमाथि दुराग्रह राख्दै संगठित रुपमा कार्यपालिका खनिनु र तपाई बिरुद्द महाअभियोगको प्रस्ताव दर्ता गर्नु निरंकुशताको पराकाष्ठा हो । यो महाअभियोग न्यायप्रेमी जनताहरुको आस्था र बिश्वास माथि लगाइएको हो । बिधिको शासनलाई नमानेर जालझेलको शासन थोपार्ने दूषित राजनीति बचाउन लगाइएको हो ।

यो उही भ्रष्ट र बेकामे नेतृत्वले बिगारेको देश हो । जहाँ जनताको घाँटी निमोठेर जनआन्दोलन दवाएका लोकमान कार्की जस्तालाई संबैधानिक निकायको प्रमुख बनाइन्छ, सर्बोच्च अदालतले दोषी ठहराइएकाहरुलाई नागरिक अभिनन्दन गरिन्छ । अदालतले भ्रष्टाचारको आरोप लगाएर कैदमुक्त हुनेहरुलाई बग्गी चढाएर शहर घुमाइन्छ तर बिधिको शासन लागु गर्न पहरेदारको रुपमा काम गर्ने सुशीला जस्ता न्यायमूर्तिहरुलाई महाअभियोग लगाइन्छ । भीमसेन थापा जस्ता देश भक्तले आत्महत्या गरेको यो देशलाई सतीले सरापेकै हो क्यारे ।

लेखक

तपाईको कार्यसम्पादनमा कमजोरी रह्यो रे । फैसलामा प्रतिशोध रह्यो रे ।  न्यायाधीशहरुमा गुटवन्दी र भेदभाव भयो रे । कार्यकारी कार्यपालिकाको अधिकारमाथि अंकुश लाग्यो रे आदि इत्यादि आरोप लगाउनेहरु बर्षौंदेखि आफ्नो स्वार्थ पूरा गर्न कानूनलाई अपब्याख्या गर्ने, शक्ति र सत्ताको आडमा कतिपय मुद्दाहरुको सुनवाई नै हुन नदिनेले विभिन्न बहाना खड़ा गरेर मुद्दाको फÞैसला हुन नदिने गिरोहहरुले उनको कार्य सम्पादनमा खोट पक्कै देख्छन् ।

किनकी भोलि ढिलो चाँडो उनीहरुका दिन आउने डर उनीहरुलाई पहिल्यै देखि थियो । यहाँसम्मकी मुद्दाको किनारा लाग्ने बेलाको सुनुवाईमा न्यायधीस आफै समेत नियतबश अनुपस्थित भएर न्यायपालिकाको साख समेत धमिल्याउनेहरुले उनले सुरुबात गरेका सुधारका कामलाई किन कार्यसम्पादनसंग जोडेर हेर्थे र ।

त्यो त उनीहरुको नजरमा उनीहरुको निरन्तरतामाथिको क्रमभंग पो थियो । जो परिवर्तन चाहँदैनथे, त्यसैले आफ्नै जग हल्लिने देखेपछि उनी माथि महाअभियोग लागेको हुनुपर्छ । अदालतकै कर्मचारीहरुको मिलेमतोमा प्रमाणहरु नष्ट गरेर एउटै मुद्दा चालिस पटक हट्ने आफ्नै संस्थाका बिकृति बिरुद्द तपाई उभिनु भ्रष्टहरुकै जग हल्लाउनु थियो ।

अझ उदेक लाग्दो कुरा त के भने, तपाई बिरुद्दको महाअभियोग सम्बन्धि खबर सुनेर सबैभन्दा पहिले जयप्रकाश गुप्ता र खुमबहादुर खड्काहरु खुशीले बुर्कुसी मारेर बोल्छन् । गोविन्दराज जोशीहरुले रात्री भोज गरे होलान् । बालकृष्ण ढुंगेलहरुले सन्तोषको शास फेरे होलान् । साँच्चै देशमा केही गर्छु भन्नेहरुमाथि कतिसम्म प्रहार हुन्छ है । सरकारको नेतृत्व गर्ने प्रचण्ड र महाअभियोगको डिजाइन गर्ने शेरबहादुरले जनताको अगाडि मुख कसरी देखाउने होलान् दिदी ? सुशीला कार्की एउटा महिला मात्र हैन देशको संबैधानिक संस्था हो भन्ने सामान्य कुरापनि किन प्रचण्ड देउवाले नबुझेका होलान् ?

चुनाव आउन पुग नपुग दुई हप्ता रहँदै गर्दा अनपेक्षित रुपमा एकाएक महाअभियोग लगाउनु चुनाव हुन नदिने प्रपन्चबाहेक केही होइन । ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेको यही हो । देश चुनावमा होमिएका बेला रातारात न्यायमूर्तिमाथि प्रतिशोध लिएर खनिनु न्यायिक बेइमानी हो । राजनैतिक खुरापात हो । जनताप्रतिको गÞद्दारी हो । यो प्रचण्ड र देउवा दुबैलाई महंगो पर्ने निश्चित छ ।

सबै जनताले कÞानून पढेका हुँदैनन् । सुशीला कार्कीले के–कति गरिरहेकी थिइन् भन्ने कुरा जान्न कÞानून पढ्नै पर्ने पनि छैन तर जनताले बुझेको कुरा के हो भने न्यायपालिकामा सुधार ल्याउन तपाईले न्याय सम्पादनमा गरेको योगदान सामान्य नागरिकले पनि बुझ्न सक्छन् । प्रदूषित राजनीति गर्ने राजनैतिक ठगहरुको सामना नेपाली जनताहरुले गर्ने छन् । लोकमानलाई रायमाझी आयोगले सिफारिस गरे अनुसार कार्यवाही गर्नुको बदला टपक्क टिपेर अक्तियारको राजा बनाउनेले तपाईलाई महाअभियोग लगाउनु कुन ठूलो कुरा हो र ?

अझ हास्यास्पद कुरा त के हो भने महाअभियोग प्रस्ताव पेश गर्ने पार्टीकै नेताहरु यसको बिरोधमा छन् । संसदका प्रतिपक्ष पार्टीहरु बिरोधमा छन् । स्वतन्त्र न्यायपालिका चाहने बैकल्पिक शक्तिहरु बिरोधमा छन् । अझ त्यो भन्दा पनि महत्वपूर्ण नेपाली जनताहरु यो महाअभियोग प्रस्तावको बिरोधमा छन् । दलीय सिन्डिकेट कायम गरी अघोषित तानाशाह बन्न खोज्नेहरुलाई जनताले तिरस्कार गर्ने छन् । सुशीला कार्कीबिरुद्ध महाअभियोग लगाउन आट्नेहरु जनताका प्रतिनिधि होइनन् । भ्रष्टहरुका प्रतिनिधि हुन् । यो तुरुन्त फिर्ता नभए उनीहरु आफैलाई एम्बुस बनेर पड्किने निश्चित छ ।

अन्तमा,

निष्ठाको लडाईमा तपाईले भ्रष्टाचार र भ्रष्टाचारीहरु बिरुद्ध गर्नुभएको योगदानको म र मेरो बिचारको प्रतिनिधित्व गर्ने सबैले साथ दिने प्रतिवद्गता ब्यक्त गर्दछु । ब्यक्तिगत दुराग्रह साँचेर स्वेच्छाचारी बन्न खोज्ने जोकोही पनि इतिहासमा बदनाम हुनेछन् । आफ्नै मन्त्री, नेता र कार्यकर्ताको मन्जुरी बिना किर्ते हस्ताक्षर गरेर पेश गरेको यो महाअभियोग प्रस्तावको बिरुद्धमा आम नागरिकहरु खुलेर लागेका छन् । यो घृणित राजनीतिको बिकल्प सुसंस्कृत राजनीति छिट्टै आउने आशा गरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय