युक्रेनी बोइङ ७३७–८०० विमानको इन्जिनमा समस्या आएकाले इरानमा बुधवार बिहान दुर्घटनाग्रस्त भएको भएको तेहरानस्थित इमाम खोमेनी विमानस्थलका एक अधिकारीले बताएका छन् । विमान उडान भरेको केही समयपछि नै दुर्घटनामा परेको थियो ।
आकाशमै हुँदा इन्जिनमा आगो लागेको तेहरान विमानस्थलका वरिष्ठ अधिकारी अली खशानीले बताए । इन्जिनले काम नगरेपछि विमान शरहियार र पारानाद शहरको बीचमा भुइँमा बज्रिएको थियो ।
युक्रेन इन्टरनेसनल एयरलाइन्सको उक्त विमानमा १६८ यात्रु र नौ विमान कर्मचारी थिए । अधिकांश यात्रु इरानी भएको इरानको नागरिक उड्डयन विभागका प्रवक्ता रेजा जफरजादेहले बताए । विमानमा सवार सबैको मृत्यु भएको छ । एजेन्सी



