धार्मिक मान्यता अनुसार बिहे गर्ने प्रचलहरु छुट्टा छुट्टै हुन्छन् । विकसित मान्यताअनुसार विहे गर्ने केटा र केटीले एकअर्कालाई राम्रोसँग चिनेर बिहे गर्ने प्रचलन पनि चल्तीमा छ । तर, भारतमा बिवाहका लागि एक अनौठो तरिका अपनाइएको छ ।

भारत उत्तर प्रदेश राज्य अन्तर्गतको मैनपुरीमा बिहे गर्ने नगर्ने भन्ने कुरा टुंगाउनका लागि लिखित परीक्षा नै लिइएको छ । बिहे हुनुअघि हुनेवाला बेहुलाले हुनेवाली बेहुलीको लिखित परीक्षा लिएका हुन् । बिहेको कुरा गर्नका लागि केटा तथा केटी पक्षबीच एक मेलाका बेला चौरमा भेट भएको थियो । कुराकानीमा बिहे गर्ने निधो गरियो । केटाले केटीलाई मन पराए । तर अचानक केटाचाहीँले आफ्नो झोलाबाट एउटा डायरी तथा कलम निकाले र केटीको हातमा दिई केटीको परीक्षा लिन सुरु गरे ।

सुरुमा केटीलाई उनको नाम, ठेगाना तथा फोन नम्बर लेख्न भने । त्यसपछि परीक्षा लिन थाले । विभिन्न जटिल शव्दहरु लेख्न लगाए । केटाले गरेका सबै सवालहरुको जवाफ केटीले सफलतापूर्वक लेख्न सकिन् । लिखित परीक्षामा पास भएसँगै केटाचाहीँ बिहेका गर्न पूर्णरुपमा राजी भए । तर कुरो यत्तिकैमा टुंगिएन आफ्नो यस्तो परीक्षा लिने केटाको तरिका केटीलाई मन परेन । उनले उक्त डायरी र कलम केटालाई दिइन् अनि उसैगरी केटाको पनि परीक्षा लिइन् । केटालाई ‘परिश्रम’, ‘दृष्टिकोण’ तथा ‘साम्प्रदायिक’ जस्ता जटिल शव्दहरु लेख्न लगाइन् । तर यी जटिल शव्दहरु केटाले शुद्धसँग लेख्न सकेनन् । त्यसपछि केटीले आफ्नो हुनेवाला लोग्ने लिखित परीक्षामा फेल भएको भन्दै बिहेको प्रस्ताव अस्वीकार गरिदिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय