
इरानको नागरिक उड्डयन प्राधिकरणले यात्रुवाहक युक्रेनी विमानमा दुईवटा टोर–एम१ क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ ।
उक्त दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सोमवार अबेर प्राधिकरणको वेबसाइटमा पोस्ट गरिएको हो । दुर्घटनामा परी विमानमा सवार सबै १७६ जनाको ज्यान गएको थियो ।
‘अनुसन्धानकर्मीहरूले दुईवटा टोर–एम१ क्षेप्यास्त्रहरू विमानमा प्रहार गरिएको पत्ता लगाए,’ प्रतिवेदनमा उल्लेख गरिएको छ । ती क्षेप्यास्त्रले दुर्घटना गराउन पारेको प्रभावका बारेमा अनुसन्धान चलिरहेको त्यसमा उल्लेखित छ ।
टोर–एम१ छोटो दूरीको जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र हो र यो पूर्वी सोभियत संघमा बनाइएको हो । विमान वा क्रुज क्षेप्यास्त्रलाई तारो बनाउन यो बनाइएको हो ।
यस दुर्घटनाको पूर्ण र पारदर्शी अनुसन्धान गर्नका लागि इरानलाई उल्लेख्य मात्रामा अन्तर्राष्ट्रिय दबाब परेको छ । एजेन्सी