
एजेन्सी । दिल्लीको जामिया विश्वविद्यालय बाहिर शान्तपूर्वक प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि बिहीबार एक युवकले अन्धाधुन्ध गोलीबारी गरेका छन् । गोली चलाउने युवकलाई तत्काल पुलिसले पक्राउ गरेको छ। नागरिकता संशोधन ऐन र राष्ट्रिय नागरिकता दर्ताको विरोधको कार्यक्रम चलिरहेका बेला गोलीबारी हुँदा एक युवक घाइते भएका छन् । दिल्ली प्रहरीका अनुसार गोली चलाउने युवकको नाम रामभक्त गोपाल हो ।
प्रहरीले पक्राउ गरेलगत्तै सञ्चारकर्मीहरुले उनको परिचय माग्दा उनले आफु रामभक्त गोपाल भएको बताएका थिए । अन्धाधुन्ध गोली चलेपछि जामिया क्षेत्र आतंकति भएको थियो । गृहमन्त्री अमित शाहले गोली चलाउनेमाथि कडा कार्वाही गर्ने बताएका छन् ।
आक्रमणकर्ताले सामाजिक सञ्जालमार्फत पहिल्यै सूचना दिएका थिए
जामिया क्षेत्रमा गोली चलाउनुअघि आक्रमणकारी रामभक्तले आफ्नो फेसबुक आइडीमा आक्रमणको घोषणा नै गरेको भेटिएको छ । आक्रमणकारीले बिहीबार बिहानदेखि १० बजेदेखि साढे १ बजेसम्मको हमलाको रुटिन बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको पाइएको छ ।
उनले हातमा पिस्तोल र अन्य हतियार बोेकेका तस्बिरहरु समेत पोष्ट गरेका थिए । उनले सामाजिक सञ्जालमा गोली चलाउनु केहि समय पहिले नै घटनाबारे सबै जानकारी पोष्ट गरेका थिए ।
युवकको परिचय
दिल्ली पुलिसका अनुसार आक्रमणकारी नोएडासँगै रहेको गहनाका बासिन्दा हुन्। उनी जेवरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम खटिरहेका थिए । उनले आफ्नो फेसबुक परिचयमा लेखेका छन् ( रामभक्त….मेरो नाम हो। मेरो बायोग्रफीमा यही नाम काफी छ । जय श्री राम….। उनले फेसबुकमा आफूलाई बजरङ्ग दल भनेर समेत परिचय दिएका छन् । बजरङ्ग दल आरएसएससँग सम्बन्धित संगठन हो । दिल्लीमा विधानसभा निर्वाचन नजिकिदै गर्दा देखिन थालेका यो खालका घटनालाई अर्थपूर्ण रुपमा हेरिन थालिएको छ ।Photo: BBC