केशवराज पौडेल/ काठमाडौं/ ‘अमेरिकाबाट नेपाल साँङ्लो आँउछ भने, तराईबाट गोमन सर्प काठमाडौं आउनु कुन नौलो बिषय हो र ? त्यसो त बस चढेर तराईका लामखुट्टे पहाड चढेका छन्’ पर्यावरणविद् तथा जीवशास्त्री डा.मु्केश चालिसे तराइका जीवजन्तु पहाड चढ्नु नियमित प्रक्रिया रहेको बताउनुहु्न्छ ।
२०६५ सालमा राष्ट्रपति कार्यालयमा उड्ने साँङ्लोले हैरानी बनाएपछि जीवविज्ञहरुबीच खैलाबैला मच्चियो । त्यसपछि साँङ्लो बिषयमा सोध अनुसन्धान परामर्श भए । डा.चालिसेका अनुसार त्यतीबेला राष्ट्रपति कार्यालयमा भेटिएको साँङ्लो अमेरिकाबाट एसियाहुँदै दक्षिण एशियाली देशहरूमा भित्रिएको रहेछ ।
त्यसपछि सो साँङ्लोको नामनै पेरिप्लानेटा अमेरिकाना रहेको पुष्टि भयो । नेपालमा पाइने रैथाने साँङ्लोभन्दा ठूलो र उड्न सक्ने क्षमता भएको पाइयो । डा.चालिसे भन्नुहुन्छ,‘यो साँङ्लोले विभिन्न खालका संक्रमण गराउँछ, त्यसैले यो नेपालमा पाइनेभन्दा घातक मानिन्छ ।’ पहाडी जिल्लामा सडक संञ्जाल पुगेसँगै तराइमा पाइने लामखुट्टे गाडी चढेर नेपालका पहाडी जिल्लामा पुगेको डा.चालिसे बताउनुहुन्छ ।
मध्यपहाडी क्षेत्रमा पाइने जनावर तराइ तथा तराइका क्षेत्रमा पाउने जनावर हिमाली क्षेत्रमा उक्लिनुको पछाडि जंगली करिडोरको विकास प्रमुख कारण रहेको हुनसक्ने वनस्पतीविज्ञ डा.तीर्थबहादुर श्रेष्ठ बताउनुहुन्छ । ‘ठूला जीवजन्तु बाह्रै महिना एक ठाउँबाट अर्काेमा स्थानान्तरण हुने भए पनि साना जीवजन्तु चाहीँ मौसम अनुकुल स्थायी बसाइ सर्ने गरेका छन्’ डा.श्रेष्ठ भन्नुहुन्छ ।
काठमाडौं उपत्यकाका थानकोट, साँगाभज्याङ, फर्पिङ र नार्गाजुन उष्ण क्षेत्र हुन् । सितोष्ण तराइमा पाउने सिमल उपत्यका आसपास पाउन थालिएपछि लामो समयदेखि लाङटाङ राष्ट्रिय निकुञ्जमा वनस्पति र जनावरहरुको अध्ययनमै क्रियाशील डा.चालिसेले त्यसको बारेमा खोजी सुरु गर्नुभएको छ ।
‘काठमाडौं उपत्यकामा कसरी सिमलका रुख भित्रिए’ त्यसबारे अध्ययन हुन जरुरी छ डा.चालिसे भन्नुहुन्छ । ‘तराइबाट त्रिशुली उपत्यकाहुँदै खानीखोला नौबिसेबाट सरेर काठमाडौं उपत्यका आसपासमा सिमल आएको हुन सक्ने एउटा आधार हुन सक्छ’ डा.चालिसे बताउनुहुन्छ । त्यस्तै कसैले सिमलको बिउ कसैले बोकेर ल्याएर छरिएपछि सिमलको रुखहरु उपत्यका आसपास रहेको सुनाउनुहुन्छ ।
रैथाने धानको बिउ मासियो । कम पानीमा समेत फल्ने र राम्रो उत्पादन दिने सघन धान उत्पादन विधि नेपालमा भित्रियो । तराइमा पाउने जनावर पहाड र हिमालसम्म चढ्न थाल्नु भनेको जलवायु परिर्वतन तथा उनीहरूको बासस्थानको खोजीमा लागेको कारणले हुन सक्ने डिभिजनल वन कार्यालय काठमाडौंका डिभिजनल वन अधिकृत बद्री कार्कीले बताउनुभयो । ‘अब स्थानीय सरकार तथा समुदायले समेत यसबारे सोच्न आवश्यक भइसकेको छ’ उहाँले भन्नुभयो । तराइमा पाइने विभिन्न किसिमका जनावर हिमालमा समेत देखिन थालेपछि त्यसको व्यवस्थापनको बारेमा सोच्न आवश्यक भईसकेको कार्कीले सुनाउनुभयो । ‘तराइका चितवन आदि जिल्लामा पाइने गैंडामाथि आयो भने के गर्ने कोब्रामाथि गयो भने के त्यसको सचेतना अब ग्रामीण स्तरमै विकास गर्न आवश्यक रहेको छ’ उहाँले यस्तो तर्क गर्नहुुन्छ ।
मध्यपहाडी जिल्लाको महाभारत क्षेत्रको जङ्गलमा तराई जिल्लामा पाईने जङ्गली जनावर बढ्दो रुपमा देखा पर्न थालेको छ । केही वर्ष पहिलेसम्म तराईका जङ्गलमा मात्र पाईने बँदेल, दुम्सी, घोरल र हरिण जस्ता जनावर सर्दै आएको विज्ञको भनाई छ ।
‘१० वर्ष पहिलेसम्म लेकमा बँदेल जाँदैनथ्यो, तराईमा मात्र पाईनथ्यो,’ महाभारत लेकको बेथान चोकका स्थानीय पद्म तिमल्सिनाले बताउनुभयो ।
‘जलवायु परिर्वतनसँगै महाभारत जङ्गलमा समेत गर्मी बढ्दै गयो, त्योसँगै जनावर पनि तराईबाट क्रमशः सर्दै आएका छन् ’ काठमाडौका डिभिजनल वन अधिकृत कार्कीले सुनाउनुभयो । जनावर मात्र नभई तराईमा पाईने रुख बिरुवासमेत सर्दै आएको उहाँको बुझाई छ । ‘पहाडी भेगमा पाईने जनावर भनेको चितुवा र भालु हो’, उहाँले थप्नुभयो, ‘बाघ त पहाडी भेगमा सरेको छैन, घाँस खाने जनावर सर्दै आएका छन् ।’
महाभारत गाउँपालिका काभ्रेका अध्यक्ष कान्छालाल जिम्बा जङ्गल छेउका बस्तीहरुमा ठाउँका किसानलाई बँदेल र दुम्सीले दुःख दिएको बताउनुहुन्छ । उहाँका अनुसार पाँच÷सात वर्ष पहिलेसम्म गाउँमा बँदेल देख्न निकै मुस्किल पर्दथ्यो । ‘तीन÷चार वर्षदेखि बालीनाली नष्ट गरेर बँदेलले निकै दुःख दिने गरेको छ,’ उहाँले भन्नुभयो, ‘बँदेलकै दुःखले लेक (जङ्गल) छेउका किसान ठाउँ नै छाडेर हिडी सके । मान्छेले बँदेल लेखेट्ने होईन, उल्टै बँदेलले मान्छे लखेटेको अवस्था छ ।’
सामुदायिक वन उपभोक्ता महासंघका बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटाले सामुदायिक वनमा पाइने वनस्पतीमा समेत परिर्वतन हुन थालेको बताउनुहुन्छ ।
‘हामीले जलवायु परिर्वतनको असरको रुपमा यसलाई लिएका छौ’ सापकोटाले भन्नुभयो–‘यसले हाम्रो सामुदायिक वनहरुमा समेत नौला प्राणी देखिन थालेकाले यस्ता जनावरहरुका फाइदा र बेफाइकाको बारेमा अनुशन्धानको बाटो बनाउन हामीले सरकारको ध्यानाकर्षण समेत गरेका छौ ।’ उहाँले थप्नुभयो–‘तराइमा पाइने जनावर पहाडमा देखिन थाल्नु खतराको घन्टी भएकाले त्यसको पूर्व तयारीमा जुटन् निक्कै आवश्यक रहेको छ ।’
‘एकसिंगे दुर्लभ गैडाजस्तै मध्यपहाडमा पाइने पहँरे बाँदर तराइमा देखिन थालेको छ’ डा.चालिसे भन्नुहुन्छ,‘यसबारे सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गर्न आवश्यक छ ।’ गोर्खा पत्र अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय