पछिल्ला दुई दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा मर्नेको संख्या घट्न थालेको छ। यसलाई उपचार र अनुसन्धानमा संलग्न चिकित्सकहरुले सकारात्मक बताएका छन्।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कअनुसार सोमबार चीनमा कोरोना भाइरस संक्रमणबाट ९८ जनाको मृत्यु भएको छ। योसँगै सन् २०१९ डिसेम्बर अन्तिम साता यता कोरोना भाइरसको कारण मर्नेको संख्या १ हजार ८ सय ७३ पुगेको छ।
अधिकांसको मृत्यु मुख्य भूमि चीनमा भएको हो, त्यो पनि हुबेइ प्रान्तमा। कोरोना भाइरसबाट मुख्य भूमि चीनमा मात्र १ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ। यो भाइरसबाट हङकङ, फिलिपिन्स, फ्रान्स, जापान र ताईवानमा एक–एक जनाको मृत्यु भएको छ।
आइतबार कोरोना भाइरसको संक्रमणबाट चीनमा १ सय ६ जनाको मृत्यु भएको थियो भने शनिबार १ सय ४३। गत शुक्रबार पनि चीनमा कोरोना भाइरसको संक्रमणबाट १ सय ४३ जनाको नै मृत्यु भएको थियो।
हालसम्म कोरोना भाइरसको संक्रमण ७३ हजार ३ सय ३३ जनामा पाइएको छ। यीमध्ये १२ हजार ७ सय १२ जना उपचार पश्चात घर फर्केका छन् । कोरोना भाइरसको संक्रमणबाट अझैपनि ११ हजार ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
कोरोना भाइरस पहिलो पटक २०१९ डिसेम्बरको अन्तिम साता चीनको हुबेई प्रान्तको राजधानी उहानमा देखिएको थियो। हुबेइमा सोमबार मात्र यो भाइरसको संक्रमणबाट ९३ जनाको मृत्यु भएको छ।
कोरोना भाइरस अहिले विश्वका २६ देश भन्दा बढी देशमा देखि सकेको छ।



