
सर्वोच्च अदालतले कानून दिवसका अवसरमा मंगलवार आयोजना गर्ने कार्यक्रम प्रधानमन्त्री र सभामुखसहित सत्तारुढ दलका नेताहरुले बहिष्कार गर्ने भएका छन् । कानून दिवसका अवसरमा सर्वोच्च अदालतले मंगलबार चियापान कार्यक्रमको आयोजना गर्दैछ ।
प्रधान्यायाधीस सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्चले अन्तरिम आदेश दिएपछि ब्यवस्थापिका संसदमाथिको हस्तक्षेप भन्दै सत्तारुढ दल रुष्ट छ । सभामुख ओनसरी घर्तीले पनि सर्वोच्चको आदेश संसदमाथिको हस्तक्षेप भएको बताउनु भएको छ ।
न्यायपालिका, कार्यपालिका र ब्यस्थापिकाबीचको टकरावका भइरहँदा कानून दिवसको कार्यक्रम नै खल्लो हुने भएको छ । सर्वोच्चले गरेको चियापान कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीका साथै कानूनमन्त्री अजयशंकर नायकले पनि बहिष्कार गर्नु हुने भएको छ । सर्वोच्चको कार्यक्रममा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले समेत सहभागिता नजनाउने बताएको छ ।
सर्वोच्चले दिवसका अवसरमा आयोजना गरेको चियापानमा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेता पनि सहभागी नहुने जनाएको छ ।
सर्वोच्चले राष्ट्रपति, प्रधानमन्त्रीका साथै उच्च पदस्थ कर्मचारी, कुटनीतिक नियोग लगायतलाई निम्तो दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई चियापान कार्यक्रमको निम्तो दिन प्रधानन्यायाधीस कार्की आफै आइतबार बेलुका शितल निवास पुग्नु भएको थियो ।
प्रधानन्यायाधीस कार्कीमाथिको महाभियोग प्रस्ताव संसदमा विचाराधिन रहेकै अवस्थामा न्यायाधीस चोलेन्द्र शमशेर जबराको एकल इजलासले शुक्रबार अन्तरिम आदेश जारी गर्दै कार्कीलाई काममा फर्किन भनेको थियो । सर्वोच्चको आदेशपछि कार्की आइतबारदेखि नै काममा फर्किनु भएको छ ।



