कोभिड १९ भनिने कोरोना भाइरसको उत्पति कहाँ भएको थियो भन्ने विषयमा चिनियाँ प्रशासन र विशेषज्ञबीच मतभेद छ । खासगरी कोरोनाको ‘पेसेन्ट जिरो’ को हो भन्नेमा चिनियाँ अधिकारीहरू विभाजित छन् ।
‘पेसेन्ट जिरो’ भन्नुको अर्थ सबैभन्दा पहिला भाइरसले संक्रमित गरेको व्यक्ति हो । जीन विश्लेषणमा भएको प्रगतिबाट कुनै भाइरसको उत्पतिको स्रोत पत्ता लाग्न सम्भव छ । यसबाट सबैभन्दा पहिला संक्रमित हुने व्यक्ति को हो भन्ने पनि पत्ता लाग्छ ।
सबैभन्दा पहिला को संक्रमित भएको थियो भन्ने प्रश्नको जवाफ पत्ता लाग्ने हो भने यो कहाँ र कसरी फैलिन शुरू भएको हो भन्ने विषयमा अहं जानकारी मिल्नेछ । र यो जानकारीबाट अहिले र भविष्यमा संक्रमित हुनबाट बचाउन सहयोग पुग्नेछ ।
तर अहिलेसम्म कोरोनाबाट संक्रमित पहिलो व्यक्ति को हो भन्ने जानकारी आइसकेको छैन । चिनियाँ प्रशासनले गत डिसेम्बर ३१ मा देखिएको दाबी गरेको कोरोनाले रुघाखोकी, ज्वरो र निमोनिया जस्ता लक्षण देखाएको थियो ।
कोरोना हुवे प्रान्तको वुहान शहरमा रहेको माछा मासु बजारबाट शुरू भएको अनुमान गरिएको छ ।
उक्त क्षेत्र प्रकोपको केन्द्र हो । जोन हप्किन्स विश्वविद्यालयले जम्मा गरेको जानकारीअनुसार चीन र बाँकी विश्वमा देखिएका अन्य मामलामा लगभग ८२ प्रतिशत अर्थात ७५ हजारभन्दा बढी मामिला यही पाइएको छ ।
तर ३१ डिसेम्बरमा फेला कोरोनाबाट संक्रमित भएको बिरामीको माछामासु बजारसँग कुनै सम्बन्ध नभएको बताइएको छ ।



