काठमाडौं । कोरोनाभाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको मृत्यु भएको छ । इरानको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज शहरमा उक्त घटना घटेको त्यहाँको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ।
उक्त समाचारका अनुसार मिसावटयुक्त त्यस्तो रक्सी पिउने अवस्था त्यसले कोरोनाभाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच भएको थियो।
अभाज जोन्डी सपुर युनिभर्सिटीका प्रवक्ता डाक्टर अली इसानपोरका अनुसार अहिलेसम्म २७० जना उपचारका लागि अस्पतालमा भर्ना भएका छन्।
आइआरएनमै सहायक सार्वजनिक अभियोजनकर्ता अली विरनभन्दलाई उद्धत गर्दै त्यस्तो रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको जनाइएको छ। कोरोनाभाइरसको सङ्क्रमणबाट ठूलो असर पुगेको इरानमा एक दिनमै मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ। यससँगै इरानमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २९१ पुगेको छ। नयाँ सङ्क्रमण थप ८८१ जनामा देखिएसँगै इरानमा सङ्क्रमितको सङ्ख्या ८,०४२ पुगेको छ।



