चैत्र १८, काठमाडौं । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट यतिबेला विश्व त्रसित छन् । विश्वको पुरै जनसंख्या डरमा छ । आज बिहानसम्म कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ भने ७ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् ।
licaecnic between description
त्यस्तै निको हुनेको संख्या करिब एक लाख ६५ हजार रहेको छ । इटालीपछि कोरोनाका कारण स्पेनको स्थिति झन् भयावह बनेको छ । स्पेनमा सोमबार मात्रै ९ सय १३ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म ८७ हजार ९ सय ५६ जनामा संक्रमण देखिएको छ भने करिब १४ हजार संक्रमित निको भएका छन् ।
विश्वभरका वैज्ञानिकहरुले प्रयास गर्दा पनि कोरोनाको औषधि बन्न सकेको छैन । चिकित्सकहरुले कोरोना संक्रमण हुनै नदिनु राम्रो भन्दै आम नागरिकलाई सुरक्षित रहन आह्वान गरिरहेका छन् । त्यस्तैमा जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले १५ सुझाव दिएका छन् कोरोनाबाट बच्न । उनले सामान किन्न घरबाहिर एकजना जवान व्यक्तिमात्र जान तथा गेट ह्यान्डल स्प्रिटले सफा गर्न सुझाएका छन् ।
यस्ता छन् सुझावहरुः
–पत्रपत्रिका घरभित्र नल्याउने ।
–दूध, दहीको प्याकेटलाई हातले नछोई कागजको ठुंगोमा राख्ने । घरमा ल्याएपछि कागजको झोला डिस्पोज गर्ने ।
–दूधको प्याकेटलाई पञ्जा लगाएको हातले निस्संक्रमण गर्ने । यसको लागि स्प्रिट वा स्यानिटाइजर प्रयोग गर्ने वा साबुनपानीले धुने । अनि अर्को व्यक्तिले कैँचीले टुप्पो काटेर भाँडोमा खन्याउने ।
–सामान किन्न घरबाहिर एकजना जवान व्यक्तिमात्र जाने । गेट ह्यान्डल स्प्रिटले सफा गर्ने । घरबाहिर जुत्ता चप्पल, खुट्टा राम्रोसँग साबुनले धुने । लगाएका कपडा सकभर घाममा राख्ने । ढोका कुहिनाले धकेलेर खोल्ने । चुकुल निस्संक्रमित् तुल्याउने । त्यसपछि नुहाएर अर्को ड्रेस लगाएर कोठा वा भान्सामा जाने ।
–ग्यास सिलिन्डरलाई साबुनपानीले धोएर तथा १ घण्टा घाममा सुकाएर मात्र घरभित्र ल्याउने ।
–घरबाहिर प्रयोग गरेको मोबाइललाई स्यानिटाइजरले सफा गरेर २० मिनेट घाममा सुकाउने ।
–चल्तीको पैसालाई सकभर भान्सा, बैठक तथा बेडरुममा नराख्ने ।
–औंठी, घडी, डोरो, सिक्री, ब्रासलेट, बाला आदि नलगाउने ।
–घरभित्र स्यानिटाइजरको साटो साबुनपानी प्रयोग फर्ने । घरभित्र बस्दा मास्क नलगाउने ।
–सकभर यो ३ हप्ता घरमा उपलब्ध खाना खाने अर्थात पसल गइरहने काम नगर्ने
–योग, व्यायाम, ध्यान, स्वस्थ्य खाना, हाँसखेल, सकारात्मक मन्थन आदिबाट रोगसँग लड्ने क्षमता बढ्छ ।
–सामाजिक संजाल वा अन्य संचार माध्यममा सरकार, जनस्वास्थ्यविद, चिकित्सक, विश्वासिला मिडियाको सल्लाह मात्र विश्वास गरौँ । हल्ला र भ्रमको पछि नलाग्ने ।
–कोरोना भाइरसको शक्ति बुझ्ने । यो तीव्र गतिमा फैलिन्छ तर धेरै घातक छैन भन्ने तथ्य नबिर्सने ।
–अहिले प्रदूषण निकै कम छ । तसर्थ फोक्सोको शक्ति बढाउन अनुलोम र विलोम, भस्त्रिका लगायत प्रणायाम गर्ने । अन्य ब्रिदिंग एक्सरसाइज गर्दा पनि हुन्छ ।
–सामान्य स्वास्थ्य समस्याको लागि अस्पताल नजाने । घरेलु उपचार गर्ने । आफ्नो डाक्टरलाई फोन गरेर सल्लाह लिने । नबिर्सौं, अस्पताल रोग सर्ने प्रमुख ठाउँमध्ये एक हो ।
–यो समयमा घामको जति सक्यो धेरै उपयोग गर्ने । घाममा बस्ने, लगाउने कपडा, बेडरुमका कपडा, भाँडाकुँडा लगायतका सामाग्री घाममा राख्ने । फुर्सदको बेला नचाहिने कुरा केलाएर घरलाई अझै सफा बनाउने ।



