फ्रान्समा कोरोना भाइरसका कारण बिहीबार एकै दिन एक हजार तीन सय ५५ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा अधिकांश रिटायरमेन्ट होमका वृद्धवृद्धा छन् ।
बिहीबार फ्रान्समा कोरोना भाइरसको संक्रमण भएर उपचार गराइरहेका ४७१ जनाको अस्पतालमा निधन भएको हो । बाँकी ८८४ जनाको रिटायरमेन्ट होममा मृत्यु भएको हो ।
फ्रान्समा कोरोना भाइरसका कारण अहिलेसम्म पाँच हजार ३८७ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित हुनेको संख्या ५९ हजार १०५ रहेको छ ।
फ्रान्स तथा युरोपका अरु देशमा पनि वृद्धवृद्धाको बसोबास रहेको रिटायरमेन्ट होममा कोरोना भाइरसले गम्भीर प्रभाव पारेको छ । मृत्यु हुनेमा अधिकांश यस्ता होममा रहेका पाको उमेरका व्यक्ति हुन् ।
फ्रान्सले रिटायरमेन्ट होममा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भए पनिले उनीहरुलाई कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको राष्ट्रिय सूचिमा राख्ने गरेको छैन । फ्रान्सले हरेक दिन अस्पतालमा उपचार गराउँदै गर्दा मृत्यु भएका र रिटायरमेन्ट होममा मृत्यु भएकाको भिन्दा भिन्दै सूचि सार्वजनिक गर्छ ।
गएको मंगलबार फ्रान्सका ग्राण्ड इस्ट रिजनका स्वास्थ्य अधिकारीले ६२० जना पाको उमेरका व्यक्तिको बसोबास रहेको रिटायरमेन्ट होममा बसेका मध्ये ५७० जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको बताएका थिए ।
यस्तै इटालीको मिलानको बाहिरी क्षेत्रमा पर्ने मेडिग्लियामा रहेको रिटायरमेन्ट होममा बसेका १५२ जना मध्ये ५२ जनाको गएको हप्तासम्म कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।
यी दुई उदहारणले फ्रान्स तथा इटालीसहितका देशमा वृद्धवृद्धाका लागि कोरोना भाइरस मृत्युको रुप बनेर आएको देखाउँछ । यसले सिंगो एक पुस्ता नै लगभग मेटाएको छ केही क्षेत्रमा ।



