कोरोनाभाइरस संक्रमण रोक्नका लागि लकडाउन लगाइँदा त्यसका साइड इफेक्टहरू पनि देखिन थालेका छन् । लकडाउनमा पतिपत्नी लामो समय बस्नुपर्दा पारपाचुकेका घटनामा वृद्धि भएको छ ।

चीनको दक्षिणमा रहेको ग्वाङदोङ प्रान्तमा बस्ने ३० वर्षीया वु नामक महिलाले आइलोसेनमा दुई महिना पतिसँग बस्दा पारपाचुकेको स्थितिमा पुगेको बताइन् ।
दुई महिना आफूहरूबीच झगडा भइरहेको उनको भनाइ छ । पतिलाई तलब कम आउने तर अफिसको काम धेरै भएको उनले बताइन् । त्यसैले उनी बच्चाहरूलाई पनि हेर्न नभ्याउने र जतिखेर पनि झर्किरहने गर्छन्, वुले भनिन् । आफूले अब सहन नसक्ने स्थिति आएको र डिभोर्स गराउने वकिल खोज्न थालेको उनले जानकारी दिइन् ।
चीनबाहेक अन्य देशमा पनि लकडाउनका बेलामा घरेलु हिंसा बढेको खबर आइरहेका छन् ।
मध्य चीनमा रहेको जियान शहरमा अनि सिचुआन प्रानतको डाचोमा पनि पारपाचुकेका लागि प्रशस्त निवेदन पर्न थालेका छन् । हुनान प्रान्तको मिलुओमा त सरकारी कर्मचारीहरूले पानी समेत पिउन नपाउने गरी पारपाचुके मुद्दाहरू हेर्नु परिरहेको छ ।
लामो समयसम्म सँगै बस्नुपर्दा विवाहितहरू दिक्क हुन थालेको र डिभोर्स लिने निर्णयमा पुग्न थालेको विज्ञहरूले बताएका छन् ।



