कोरोनाभाइरसको संक्रमण रोक्नका लागि २१ दिनको लकडाउनको घोषणा गरेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले मानिसहरूलाई अप्रिल ५ अर्थात् आगामी आइतवार राति ९ बजे घरघरमा दियो बाल्न अपील गरे । ज्योतिषशास्त्रीहरूलाई उचित मुुहूर्तका बारेमा सोधेर उनले त्यो समय निर्धारित गरेका हुन् ।
यसअघि मार्च २० मा सम्बोधन गर्दै मोदीले मार्च २२ का दिन बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यु लगाउन अपील गरेका थिए । त्यसक्रममा उनले बेलुका ५ बजे घरघरबाट ताली, थाली, शंख र घन्टी बजाउन अपील गरेका थिए । कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको हौसला बढाउन उनले ध्वनि निकाल्न भनेका थिए । मानिसले उनको कुरा मान्दै भाँडाकुँडा बजाएका पनि थिए ।
शंख र घन्टको ध्वनिले नकारात्मक ऊर्जा नष्ट गर्ने कुरा हिन्दू धर्मशास्त्रमा उल्लेख छ । सनातन धर्ममा करतल ध्वनि, घन्ट ध्वनि र शंख ध्वनिको महत्त्वपूर्ण स्थान छ । पूजापाठमा यी ध्वनिको महत्त्व त छँदैछ, चिकित्सकीय रूपमा पनि यो महत्त्वपूर्ण छ ।
आइआइटी बीएचयूको भौतिकशास्त्र विभागका आचार्य प्राध्यापक बीएन द्विवेदीका अनुसार, घन्टहरू निरन्तर ध्वनिबाट उत्पन्न ऊर्जाले हाम्रो दिमागको दाहिने र देब्रे भागलाई एकीकृत गराउँछ र चनाखो बनाउँछ ।
त्यस्तै दियो बाल्नुको पनि ठूलो धार्मिक महत्त्व छ । जीवनलाई प्रकाशमय बनाउने र सकारात्मक रूपमा लिने सन्देश दियोले दिन्छ । प्रकाशलाई रक्षाकवचका रूपमा लिँदै सकारात्मक ऊर्जाको प्रवाह त्यसबाट हुने शास्त्रहरूमा उल्लेख छ ।
सनातन धर्ममा दियो बाल्नुको महत्त्व छ भने इसाइ र मुस्लिम धर्ममा मैनबत्तीको महत्त्व छ । दियो र मैनबत्तीको प्रकाशले आत्मालाई शान्ति दिन्छ । दियो बाल्दा नकारात्मकतामा कमी आउँछ र सकारात्मक ऊर्जा शरीरमा प्रवेश गर्छ । प्राकृतिक तेलको दियो र मैनबत्तस् बाल्दा प्रदूषण पनि कम हुन्छ ।
मोदीको यो आह्वानमा सामाजिक सहाचर्यको भाव पनि निहित छ । कोरोना लकडाउनका कारण मानिसहरूले आफ्नै छिमेकीसँग पनि भेटघाट गर्न पाएका छैनन् । तर एकैसाथ सबैजना घरको बार्दलीमा उभिएर दियो बाल्दा सामाजिक अपनत्वको भावना पनि जागृत हुन्छ ।



