फिलिपिन्समा कोरोनाभाइरसको चेकप्वान्टमा मकै काट्ने हतियार देखाउँदै धम्क्याउने एक ६३ वर्षीय वृद्धमाथि शनिबार प्रहरीले गोली चलाउँदा मृत्यु भएको छ । देशको दक्षिणी प्रान्त अगुसान डेल नोर्टेस्थित नासिपिट गाउँमा राखिएको चेकप्वाइन्टमा ती वृद्धले गाउँका अधिकारी र प्रहरीलाई धम्काएपछि बाध्य भएर गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । ती व्यक्ति रक्सीले मातेको हुनसक्ने अनुमान गरिएको छ ।

‘मास्क नलगाएकोमा गाउँका स्वास्थ्य अधिकारीले ती व्यक्तिलाई चेतावनी दिएका थिए,’ प्रहरीको रिपोर्टमा भनिएको छ, ‘तर, ती व्यक्ति रिसाएर अपशब्द प्रयोग गर्दै अधिकारीमाथि हतियार लिएर आक्रमणको प्रयास गरे ।’ ती व्यक्तिलाई रोक्ने प्रयास गरेका प्रहरीले गोली प्रहार गर्दा उनको मृत्यु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोनाभाइरससम्बन्धी नियम पालना नगरेकोमा प्रहरी कारवाहीबाट मारिने ती व्यक्ति पहिलो हुन् । यसअघि बुधबार मात्र राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरस नियन्त्रणका नियमहरु नमान्नेलाई गोली हान्न आदेश दिएका थिए ।

‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्,’ उनले बुधबार अबेर राति प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिएका थिए ।

स्रोत : अलजजिरा