
चीनको वान बेल्ट, वान रोड (ओबीओआर) परियोजनाको सम्झौतापत्रमा शुक्रवार नेपालले हस्ताक्षर गरेपछि भारतीय सञ्चारमाध्यमको प्रतिक्रिया आएको छ । भारतको सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) को रिपोर्टमा ओबीओआरमा नेपाल गाँसिएपछि भारतलाई चिन्ता पर्न सक्ने लेखिएको छ ।
भारतले बेइजिङको ओबीओआर परियोजनालाई विरोध गरेको अवस्थामा नेपाली पक्षको सम्झौता उसका लागि चित्तबुझ्दो छैन भनी पीटीआई लेख्छ । ओबीओआरको एक भाग चाइना पाकिस्तान इकोनोमिक कोरिडोर पाकिस्तान अधीनस्थ कश्मीर भएर जाने भएकाले भारतले अप्ठ्यारो महसूस गरेको हो ।
भारतले नेपालसँग राम्रो आर्थिक तथा राजनीतिक सम्बन्ध कायम गरेको भएपनि विगत केही वर्षयता चीनबाट कडा प्रतिस्पर्धा बेहोरिरहेको पीटीआई उल्लेख गर्दछ । भूपरिवेष्ठित मुलुक नेपाल भारतबाट भारी मात्रामा हुने आयातमा भर पर्ने र समुद्रको पहुँचका लागि भारतीय बन्दरगाहमा पूर्णत निर्भर रहेको रिपोर्टमा उल्लेख छ ।



