काठमाण्डौ – टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले गृहमन्त्रीको राजीनामा अस्वीकृत गर्नुभएको छ ।
गृहमन्त्री सुलेमन सोयलुले दिएको राजीनामा अर्दोआनले अस्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ । छोटो सूचनाका आधारमा देशका धेरै सहरमा कर्फ्यु लगाउने पूर्ण जिम्मेवारी आफुलाई पूरा गर्न गाह्रो हुने भन्दै उहाँले राजीनामा दिनुभएको थियो ।
कोरोना भाइरसको सङ्क्रमण थप फैलिदै गएपछि टर्कीका धेरै सहरमा कफ्र्यु लगाउने घोषणा गरिएको थियो । ‘गृहमन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छैन, उहाँले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनुहुनेछ’, राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
गृहमन्त्री सोयलुले भने आफुलाई यस्तो सङ्कटको वेलामा काम गर्ने अनुभव नभएकाले काम गर्न नसक्ने ठानेर राजीनामा दिएको बताउनु भएको छ ।
‘यो जिम्मेवारी पुरा गर्नका लागि मेरो अनुभव नभएकाले मेरा जनता र राष्ट्रपतिले मलाई माफी दिनु हुनेछ भन्ने आशाका साथ राजीनामा दिएको छु’, उहाँले राजीनामा पत्रमा लेख्नुभएको थियो ।
गृहमन्त्री सोयलुले गत शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी देशका ३१ प्रान्तमा ४८ घण्टे कर्फ्यु घोषणा गर्नुभएको थियो । टर्कीमा कोरोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने अरु ५५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।



