कोभिड–१९ अर्थात कोरोनाभाइरसको खोप तयार नभएसम्म सामाजिक दूरी नै यो महामारीको सबैभन्दा भरपर्दो उपचार मानिएको छ ।
कोरोनाभाइरसबाट फैलिएको यो महामारीलाई मध्यनजर गर्दै अधिकांश प्रभावित मुलुकमा ‘सुरक्षित दूरी नै नियन्त्रणको उपाय हो’ भन्ने प्रचार गरिएको छ । सामाजिक दूरीलाई प्रभावकारी रुपमा लागू गर्नका लागि एशिया होस् या मध्यपूर्व, युरोप होस् या अमेरिका, कोरोना संक्रमण प्रभावित अधिकांश देशले ‘लकडाउन’ घोषणा गरेका छन् ।
जुन देशलाई कोरोनाभाइरसको महामारी सबैभन्दा खराब चरणबाट गुज्रिसक्यो भन्ने लाग्न थालेको छ, उनीहरुले ‘लकडाउन’ समाप्त गर्ने रणनीति बनाउन थालेका छन् ।
भारतमा मार्च २२ मा जनता कर्फ्यु समाप्त भएलगत्तै २१ दिनका लागि ‘लकडाउन’ सुरुवात भयो । २१ दिनको लकडाउन १४ अप्रिलमा पूरा हुँदै थियो, प्रधानमन्त्री नरेन्द्र मोदीले राज्य सरकारहरुसँग छलफल गरेर ३ मेसम्म यसलाई लम्ब्याइदिए ।
भारत सरकारले २० अप्रिलपछि स्थिति हेरेर केही स्थानका लागि लकडाउनमा सशर्त छुट दिने जनाएको छ ।
लकडाउनको अन्त्य कहाँबाट ?
जुन देशले यो महामारीबाट माथि उठेको दाबी गरिरहेका छन्, उनीहरुले र उनीहरुकोमा सेवा दिने कम्पनीहरुले लकडाउनपछिको तयारी गर्न थालिसकेका छन् ।
जर्मनीकी चान्सलर एंगेला मार्केलले आफू विस्तारै प्रतिबन्धलाई अन्त्य गर्ने दिशामा अघि बढ्न चाहेको बताएकी छन् । उनले सामाजिक दूरीसँग जोडिएका नियम भने तत्काल पालना गर्नुपर्ने बताएकी छन् ।
मानिसले घरबाहिर आउँदा मास्क लगाउनुपर्ने भए पनि सार्वजनिक यातायात सुरु गर्ने र सीमित आकारका पसल एवं गाडी तथा मोटरसाइकलका शो रुम खोल्न दिने उनको तयारी छ ।
जर्मनीले ४ मेपछि निकै सावधानीपूर्वक तोकिएका केही स्कूल खोल्ने तर सबै प्रकारका धार्मिक आयोजन, ठूला सभा, भोजभतेरमा भने ३१ अगस्टसम्म प्रतिबन्ध कायम राख्ने तयारी गरेको छ ।
मार्केलले भनेकी छन्, ‘लकडाउनलाई कडाइका साथ पालन गरेकै कारण यो महामारीलाई नियन्त्रित राख्न सकिएको हो ।’ जर्मनीमा करिब सवा लाख मानिस कोभिड–१९ बाट संक्रमित पाइएका छन् । तीमध्ये तीन हजार २०० भन्दा बढीको मृत्यु भएको छ ।
जर्मन सरकारले अहिले पनि सतर्क रहनुपर्ने खाँचो औँल्याएको छ । यसैलाई मध्यनजर गर्दै जर्मन सरकारले रेस्टुरेन्ट, बार, सिनेमा हल, क्याफेहरु तत्काल बन्द रहने प्रष्ट पारेको छ ।
युरोपका अन्य देशमा पनि तयारी
डेनमार्कमा ११ वर्षसम्मका बच्चाका लागि विद्यालय खुला गरिएको छ । विद्यालयलाई बच्चाको सरसफाइमा ध्यान दिन चेतावनी दिइएको छ ।
अस्ट्रियाले पनि यसै साता साना पसलहरु खोल्ने निर्णय गरेको छ । मैदानमा एक अर्काबीच दूरी बनाएर खेलिने खेल टेनिस, गल्फका लागि पनि १ मेदेखि अनुमति प्रदान गरिने भएको छ ।
युरोपमा कोरोना महामारीको केन्द्र रहेको इटालीमा पनि पुस्तक पसल, बच्चाका कपडा पसल खुल्न थालेका छन् ।
स्पेन सरकारले ‘कन्स्ट्रक्सन’ तथा ‘म्यानुफ्याक्चरिङ’को काम सुरु गरिने जनाएको छ । सोही कारण विभिन्न कम्पनीले कामदारलाई बोलाउन थालिसकेका छन् । सानातिना घरेलु सेवा दिने मिस्त्रीलाई पनि काम गर्न अनुमति दिइएको छ ।
स्पेनको बार्सिलोना सहरका मेयरले कडा प्रतिबन्धबाट अब बच्चालाई छुट दिन सरकारसँग आग्रह गरेका छन् । स्पेन सरकारले बच्चालाई कुनै पनि हालतमा घरबाहिर निस्कन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।
मुख्यरुपमा युरोपमा सेवा दिने विमान कम्पनी इजी जेटले लकडाउनपछि विमान सेवा सुरु हुनुअघि विमानका बीचको सिट खाली राख्ने निर्णय गरेको छ । यात्रुबीच दूरी कायम होस् भनेर बीचको सिटलाई खाली राख्ने निर्णय गरिएको उक्त विमान सेवाको भनाइ छ ।
कोरोना संक्रमणको अवस्थालाई लिएर कतिपय देश अझै त्रासमुक्त हुन सकेका छैनन् । फ्रान्सले समेत चार हप्तासम्मका लागि लकडाउन बढाएको छ । बेल्जियमले पनि प्रतिबन्धलाई ३ मेसम्मका लागि बढाएको छ ।
-बीबीसी



