तेहरान : ‘सहर तबर’को रुपमा चिनिने इरानी इन्स्टाग्राम सेलिब्रिटी फतेमा खिसभन्द कोरोना भाइरसबाट संक्रमित भएकी छन् । अनिश्वरवादी प्रचार गरेको अभियोगमा जेल जीवन बिताइरहेकी फतेमालाई कोरोना संक्रमण भएको उनका वकिलले जानकारी दिएका हुन् । २०१९ को अक्टोबरमा उनी पक्राउ परेकी थिइन् । कस्मेटिक सर्जरी गरेकी खिसभन्द इरानमा निकै चर्चित सेलिब्रिटी हुन् ।
अवैध शिक्षाको प्रचार तथा धर्म विरोधी अभिव्यक्ति, युवालाई भ्रष्टाचारप्रति प्रेरित गरेको तथा हिंसा भड्काउने गतिविधि गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो । इरानी मानव अधिकारकर्मीहरुले उनको रिहाइको लागि आवाज उठाइ पनि रिहा भएकी छैनन् ।
जेलमै रहँदा उनलाई कोरोना भाइरसको संक्रमण भएको हो । खिसभन्दले नियमित रुपमा इन्स्टाग्राममा तस्बिर पोस्ट गर्दैआएकी थिइन् । अधिकांश इरानीहरु उनलाई चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीसँग पनि तुलना गर्थे । उनी स्वयं आफूलाई एन्जेलिनाकै हुलियामा प्रस्तुत गर्थिन् ।
कोरोना संक्रमणपछि भने उनको अवस्था नाजुक देखिएको छ । उनको पछिल्लो तस्बिर पनि भाइरल बनेको छ । इरानमा कोरोना भाइरसका संक्रमितको संख्या ७९ हजार भन्दा धेरै पुगिसकेको छ । साथै ४ हजार ९ सयको मृत्यु भइसकेको छ ।



