विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट १३ लाख बढी व्यक्ति निको भएका छन् । अहिले पनि तीव्र गतिमा फैलिएको कोरोनाबाट बिहीबार बिहानसम्म १३ लाख २ हजार व्यक्ति निको भएका हुन् ।
कोरोनाले सबैभन्दा बढी आक्रान्त संयुक्त राज्य अमेरिकामा २ लाख १३ व्यक्ति कोरोना उपचारपछि घर फर्किएका छन् । त्यहाँ कुल संक्रमितको संख्या १२ लाख ६३ हजार नाघेको छ । जसमध्ये ७४ हजार ७ सयको मृत्यु हुँदा १५ हजार ८ सय संक्रमितको अवस्था गम्भीर रहेको छ ।
अमेरिकापछि कोरोनाबाट निको हुनेको संख्या जर्मनीमा बढी छ । अहिलेसम्म त्यहाँ १ लाख ६८ हजार व्यक्ति संक्रमित छन् । जसमध्ये १ लाख ३७ हजार व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।



